भरतपुर । भरतपुर महानगरपालिकाले लागू गरेको विज्ञापन करप्रति व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । व्यवसायीसँग व्यवसाय कर, बहाल करलगायत विभिन्न कर लिँदै आएको महानगरले पुनः चर्काे विज्ञापन कर लिन थालेको भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।
महानगरले विज्ञापन कर उठाउनका लागि भरतपुर–११ स्थित प्रनिश कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । व्यवसाय चिनाउन राखिने परिचय पाटी (साइन बोर्ड)सहित १३ किसिमको विज्ञापन कर उठाउन महानगरले कन्स्ट्रक्सनलाई कार्यादेश दिएको हो ।
उद्योग वाणिज्य संघ–चितवनका नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले महानगरको विज्ञापन कर लिने नीतिको विरोधमा महानगरमा डेलिगेसन जाने बताए । ‘हामी पदाधिकारीको पहिलो बैठकमा यससम्बन्धी छलफल गरेर महानगरपालिकामा एकचोटि डेलिगेसन जान्छौँ’, उनले भने ।
ठूला प्रकृतिका होर्डिङ बोर्डहरुको विज्ञापन कर व्यवसायीले तिर्दै आएकोमा अहिले आफ्नो पसल चिनाउन राखिने साइन बोर्डमा समेत कर लिन थालिएकोमा उनले असन्तुष्टि जनाए । विज्ञापन करप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै यस विषयमा महानगरसँग छलफल गर्ने उनले बताए ।
भरतपुर–४ का रघुनाथ सापकोटाले आफ्नै घर र पसलमा राखेको बोर्डको कर किन तिर्ने ? भनेर महानगरलाई प्रश्न गरेका छन् । कांग्रेस नेतासमेत रहेका सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्छन्, ‘के व्यवसायीले व्यवसाय कर र बहाल कर तिरेका छैनन् ? यस्ता घृणित कार्यको घोर भत्र्सना गरौँ ।’
व्यवसायको परिचय जनाउने गरी व्यवसायको अगाडि राखिएका २० वर्गफुटभन्दा बढीका परिचय पाटी (साइन बोर्ड)मा मात्रै विज्ञापन कर लाग्ने महानगरको राजस्व प्रशासन महाशाखाका राजस्व अधिकृत जयराम भण्डारीले बताए । २० वर्गफुटभन्दा बढीका साइन बोर्ड राख्नुपरे महानगरपालिकासँग अनुमति लिएर प्रतिवर्गफुट सय रूपैयाँ तिरेरमात्रै राख्न पाइने उनले बताए ।
‘२० वर्गफुटसम्मका लागि कर लाग्दैन । त्योभन्दा बढी भए कति वर्गफुट बढी भएको छ त्यसअनुसारको मात्रै कर लाग्ने भनिएको हो’, उनले भने, ‘यदी कसैले ३० वर्गफुटको साइन बोर्ड राखेको छ भने २० वर्गफुटको छूट हुन्छ । १० वर्गफुटको मात्रै कर तिर्नुपर्छ ।’ त्यसरी तिर्दा प्रतिवर्गफुट सय रूपैयाँ तिर्नुपर्ने उनले बताए ।
उनका अनुसार यससहित आगामी तीन आर्थिक वर्षको विज्ञापन कर उठाउन प्रनिश कन्स्ट्रक्सनलाई जिम्मा दिइएको हो । तीन आर्थिक वर्षमा एक करोड ७५ लाख रूपैयाँ महानगरले पाउने गरी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । यस आवमा महानगरले करिब ८५ लाख रूपैयाँ विज्ञापन कर प्राप्त गरिसकेको छ ।
प्रनिश कन्स्ट्रक्सनले २० वर्गफुटभन्दा ठूलो साइन बोर्डमा छूट नदिईकन एकमुष्ट कर असुल्ने गरी व्यवसायीलाई पत्र काटेको थाहा पाएपछि सम्झौताबारे स्पष्ट पारिएको उनले बताए । डिजिटल डिस्प्ले बोर्ड, होर्डिङ बोर्डलगायतको पहिचानका सन्दर्भमा पनि कन्स्ट्रक्सनलाई स्पष्ट पारिसकिएकाले अब समस्या नहुने उनी बताउँछन् ।
होर्डिङ बोर्डको प्रतिवर्गफुट १५०, ब्यानरको (बढीमा दुई दिनसम्म राख्न पाउने) प्रतिदिन एक सय, रोडक्रस गेटको प्रतिदिन दुई सय, एलइडी भिडियो बोर्डको प्रतिवर्गफुट आठ सय र एलइडी लाइट बोर्डको ३५० रूपैयाँ विज्ञापन कर लिन कार्यादेश दिइएको छ । त्यस्तै, फ्लेक्स (निषेधित क्षेत्रबाहेक)को प्रतिवर्गफुट १२०, पोल डिजिटल बोर्डको ५०, अन्य डिजिटल बोर्डको ५० र भित्ते लेखनको २५ रूपैयाँका दरले कर तिर्नुपर्ने छ ।
त्यसैगरी, वास्तविक वस्तुको प्रदर्शन गर्दा प्रतिवस्तु सय र प्रतिदिनका हिसाबले दुई सय, सवारीसाधनमा राखी गरिने विज्ञापन (ध्वनिसहित)को प्रतिघन्टा दुई सय र ध्वनिबाहेकको प्रतिघन्टा सय रूपैयाँ तिर्नुपर्ने भएको छ ।