नेपाल विद्यार्थी संघको विधानको पूर्ण कार्यान्वयन गर्दै उमेर हदबन्दी हटाउनुपर्ने लगायतका माग राखेर नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विद्यार्थी नेता र कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।उनीहरुले अझैसम्म पनि नेविसंघको महाधिवेशन नभएको भन्दै सबै उमेर समूहको प्रतिनिधित्व हुने गरी विधान बमोजिम यथासीघ्र तदर्थ समिति गठन गर्न माग गरेका छन् । उनीहरुले नेविसंघको महाधिवेशन पनि छिटो गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । कांग्रेसले ३२ वर्ष भन्दा माथि उमेर समूहकाले नेविसंघको अध्यक्ष बन्न नपाउने निर्णय गरेको छ ।

कांग्रेस नेतृत्वले भातृसंस्थाहरुमा सिण्डिकेट लागू गर्न खोजेको आरोप प्रदर्शनमा उत्रेकाहरुको छ । सबै भातृ संस्थाहरुलाई विधानसम्मत तरीकाले अघि बढाउनु पर्ने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन हुनुपर्ने पनि आफूहरुको माग रहेको विद्यार्थी नेताहरुको भनाई छ ।
ती माग पूरा गर्न भन्दै विद्यार्थीहरुले कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।

