राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चितवनको निकुञ्जमा आकाशे पुलको सपना बाड्नेहरुले सडकमा कालोपत्रेमात्र पनि गर्न नसकेको बताउनु भएको छ ।
चितवनको माडीमा राप्रपा माडी नगर समिति कार्यलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले माडी आउने सडकको अवस्था अहिले पनि दयनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो चुनावका बेला बाँडेका सपनाहरु धेरै पूरा भए होलान् भन्ने मैले सोचेको थिए । तर, विकास निर्माणको काम जहाँको त्यही रहेछ । उहाँले माडीका जनतालाई निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष भ्रमको खेती गरेर झुक्याएको आरोप लगाउनुभयो ।
पूर्वमन्त्री पाण्डेले आफूले सुरु गरेका माडीका पुलहरुले यहाँका जनप्रतिनिधिलाई गिज्याइरहेको बताउनुभयो । ‘पुल निर्माणको थालनीका कामहरु सबै प्रक्रिया पूरा गरेर मैले छाडेको थिए अझ निर्माण सम्पन्न भएका छैनन्’ उहाँले भन्नुभयो । माडीका बाँदरझुलालगायत क्षेत्रमा रहेका सुकुमबासीलाई भरतपुरको राजमार्ग नजिकैको क्षेत्रमा स्थानान्तरणको लागि आफू भूमिसुधार मन्त्री हुँदा निर्णय गरे पनि उनीहरुको अवस्था अहिले पनि उस्तै रहेको बताउनु भएको हो ।
माडीका बाँदरझुलालगायत क्षेत्रमा रहेका सुकुमबासीलाई भरतपुरको राजमार्ग नजिकैको क्षेत्रमा स्थानान्तरणको लागि आफू भूमिसुधार मन्त्री हुँदा निर्णय गरे पनि उनीहरुको अवस्था अहिले पनि उस्तै रहेको बताउनुभयो । अहिले सुकुमबासी झुक्याउने योजना ल्याइएको छ निस्साको नाममा चन्दा उठाइएको छ , उहाँले भन्नुभयो ‘जबसम्म राष्ट्रियस्तरको योजना ल्याएर नापी गरिँदैन तबसम्म जनता झुक्याउने बाहेक अरु काम हुँदैन ।’ उहाँले भ्रमको खेती गर्नेहरुको भण्डाफोर गर्न कार्यकर्तालाई कार्यक्रममा निर्देशन दिनुभएको छ ।
माडीमा मालपोत कार्यालय स्थापना, तटबन्ध, सडक र पुल निर्माणमा आफू मन्त्री र जनप्रतिनिधि हुँदा काम गरेको उहाँले बताए । अब माडीको विकास गर्ने जनप्रतिनिधि छान्ने जिम्मा जनताको रहेको भन्दै आफूसँग विश्वकै सुन्दर ठाउँ माडी बनाउने योजना रहेको दाबी गर्नुभएको छ । साथै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् ।