नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन् । भारतबाट आयात गर्ने बिजुली पाउन मुस्किल भएपछि केही दिनयता उद्योगहरूले भनेजति बिजुली पाउन सकेका छैनन् । उद्योगहरूमा बिजुली आपूर्ति बन्द भएपछि व्यवसायीहरूले लोडसेडिङ गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । निर्देशक घिसिङले अहिले लोडसेडिङ नभई केही दिनको समस्या भएको र त्यसको समाधान अहिलेलाई भएको बताएका छन् । बिहीबार राति १२ बजेबाट २० भारू अर्थात् ३२ रुपैयाँमा बिजुली किन्न लागेको उनले बताए । करसहित त्यस्तो बिजुली प्रतियुनिट नेपाली ३८ रुपैयाँसम्म पर्छ ।
‘३८ रुपैयाँमा किन्दा आज राति १२ बजेर १५ मिनेट जाँदा सिस्टम नर्मल हुन्छ । हामीले फुल रेटमा बिड गरेका छौं। तीन दिन बिडिङमा नपरेको हुँदा उद्योगहरूमा समस्या देखिएको हो,’ उनले भने, ‘यो समस्या केही समयको लागि मात्रै हुन्छ र त्यसपछि नेपालकै बिजुली बढी हुन्छ ।’ यस्तै अहिले भारतबाट उच्चतम मूल्यमा किने पनि उद्योगहरूलाई बिजुलीको मूल्य नबढाउने उनले बताए । पहिला केही समय निकै सस्तोमा पनि बिजुली किनेको उल्लेख गर्दै घिसिङले अहिले महंगो भए पनि माग पूरा गर्न घाटा खाएर किन्न लागिएको बताए ।
‘दुई रुपैयाँ ५० पैसामा पनि किनेका छौं । केही समयको लागि महंगो भएपनि किनौं भनेका छौं । लामो समय सक्दैनौं,’ उनले भने, ‘सरकार, सिमेन्ट तथा विभिन्न उद्योगीहरूलाई पनि यसबारे जानकारी गराइसक्यौं । यस्तोबेला सहयोग गरिदिन भनेर भनेका छौं । भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो । रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन् ।
प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ । खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो । सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन ।