अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय कार्यसमिति अध्यक्ष प्रकाश पौडेल माइला बिहीबार बिहान पश्चिम चितवनको भिमनगरस्थित भीमनगर माविका विद्यार्थीमाझ प्रस्तुत भए छन् । उक्त विद्यालयमा माइलाले कक्षा ६ देखि ८ सम्म अध्ययन गरेका थिए । `आफूले पढेको विद्यालयमा यसरी आउन पाउँदा मलाई बाल्यकालको सम्झना आएको छ´, माइलाले भने – `म यो विद्यालयमा २०५१ सालसम्म अध्ययन गरेको हूँ, स्कुल छोडेर गएपछि यसरी शिक्षक र विद्यार्थी भाइबहिनीसँग बसेर भलाकुसारी गर्न पाएको थिइन । आज २६/२७ वर्षपछि मलाई आफूले शिक्षा आर्जन गरेको विद्यालयको चउरमा यसरी अहिलेका विद्यार्थी र शिक्षकहरूमाझ उभिन पाउँदा खुसी लागेको छ ।´
माइला पछिल्लो १६ वर्षदेखि जापानमा बस्छन् । वर्षमा २/३ फेरसम्म घरमा पनि आउँछन् । घरै नजिक विद्यालय परे पनि यसरी शिक्षक विद्यार्थीसँग घुलमिल हुने मौका नजुरेको तर मन भने लागेको उनले बताए । `म यो विद्यालयमा रहँदा एउटा कविता प्रतियोगितामा भाग लिएको थिएँ´, माइलाले भने – `उक्त प्रतियोगितामा म तृतीय भएको थिएँ, त्यसपछि मलाई कविता सिर्जना र साहित्यमा रुचि बढ्दै जान थाल्यो ।´
साहित्य लेखनमा सानै उमेरदेखि लागेका माइलाले विभिन्न विधामा कलम चलाए पनि उनलाई चिनाउने विधा भने हाइकू बन्यो । नेपालमा रहँदा पनि हाइकू सिर्जना र अनुसन्धानमा लागेका माइला जापानमा गएपछि झन् हाइकूमै गहिरिन थाले । हाइकू लेखिने संसारकै प्रमुख देश जापान भएकोले पनि माइलालाई हाइकूमा लागिरहन सजिलो भयो । हाइकूमै समर्पित भएर माइलाले जापानमा त्यहाँको साहित्य संगठनसँग माथिल्लो तहसम्म सम्बन्ध बनाएका छन् । माइलाले नेपालमै रहँदा पनि हाइकू सम्बन्धि कृति प्रकाशन गरेका छन् । जापान पुगेपछि लेखन र कृति प्रकाशनमा झन् सक्रिय बनेका उनी संसारभर छरिएर रहेका नेपाली सर्जकहरूको छाता संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पनि बने । विद्यार्थीमाझ प्रस्तुत भएका माइलाले जापानको बारेमा मात्रै सुनाएनन्, जापानसँगका आफ्ना अनुभूति पनि विद्यार्थीलाई सुनाए ।

माइलाको जन्मदिन चैत १ गते हो । त्यही मेसो पारेर माइलाले विद्यार्थीमाझ भेट्ने कार्यक्रम तय गरेका हुन् । विद्यार्थीलाई भेट्न उनी खाली हात गएनन् । जन्मदिनका अवसरमा केही राम्रो काम गर्ने सोच बनाएका माइलाले जन्मदिनको कोसेलीस्वरुप लगभग ६०० विद्यार्थी भएको विद्यालयमा बालपत्रिका मुना र युवामञ्च बोकेर गएका थिए । सोही विद्यालयमा लेखा समिति संयोजक रहेका आफ्ना बुवा चूडामणि पौडेलसहित विद्यालय पुगेका माइलाले सबै विद्यार्थीलाई पुग्नेगरी ती पत्रपत्रिकाहरू विद्यार्थीका हातहातमा थमाइदिए । माइलाले भने – `यी पत्रपत्रिका पढेर तपाईंहरू पनि सिर्जनशील बन्नु, केही लेख्ने कोसिस गर्नु, बाहिरी ज्ञानले तपाईंको व्यक्तित्व विकासमा टेवा पुर्याउनुका साथै तपाईंलाई बाहिरी संसारको पनि ज्ञान दिन्छन् ।´ पत्रपत्रिकासँगै माइलाले फुटबल, भलिबल, स्किपिङ, रिङ, ब्याडमिन्टनलगायतका खेलकुदका सामग्री पनि विद्यार्थीहरूलाई उपहारस्वरूप उपलब्ध गराए ।
आफूले अध्ययन गरेको विद्यालयमा आएर विद्यार्थी भाइबहिनीलाई पत्रपत्रिका र खेलकुदका सामग्री उपलब्ध गराएकोमा विद्यालयका प्रधानाध्यापक कोमलनाथ घिमिरेले माइलालाई धन्यवाद दिए । `एउटा शिक्षित र शैक्षिक व्यक्तित्वले मात्रै यो कुरा ख्याल गरेको हुन्छ, माइलाले अहिलेका विद्यार्थीलाई आफूजस्तै सिर्जनशील बनून् भनेर यसरी आधार बनिदिनु भएको मात्रै हो । यी पत्रपत्रिका पढेर हाम्रा विद्यार्थीले पक्कै पनि रचनात्मक काम गर्नुहुनेछ । विद्यालयले पनि विद्यार्थीलाई लेख्ने, पढ्ने र खेल्ने क्रियाकलापमा सहयोग गर्नेछ ।´

माइलासँगै पत्रकार एवम् कथाकार वसन्त पराजुली पनि सोही विद्यालयमा पुगेका थिए । अघिल्लो वर्ष पत्रकार पराजुलीले आफ्नो जन्मदिनका अवसरमा सोही विद्यालयका विद्यार्थीलाई मुना, युवामञ्चलगायतका पत्रपत्रिका उपलब्ध गराएका थिए । पराजुलीले यसपटक उक्त विद्यालयका ५ जना सिर्जनशील विद्यार्थीलाई आफ्नो पहिलो कथासङ्ग्रह `कुमाता´ उपलब्ध गराएर विद्यार्थीलाई कथा लेखनमा अग्रसर हुन प्रोत्साहन गरे ।
सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी तोलप्रसाद काफ्लेले प्रकाश दाजुले उपलब्ध गराएका यी पुस्तक तथा पत्रपत्रिका पढेर साहित्यमा रुचि राख्ने हामीजस्ता विद्यार्थी साथीहरूलाई अगाडि बढ्न सहयोग पुग्ने बताए । माइलाले पनि चितवनमा चलिरहेको पुस्तक पढाउने अभियानमा आफू अबदेखि निरन्तर सहभागी हुने प्रतिबद्धता जनाए ।
समाचार श्रोत : लेखराम सापकोटा/ कायकैरन दैनिक

