पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एक्ला एक्लै हिँडेर देश विकास गर्न नसकिने बताएका छन् ।
भरतपुर महानगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको आज शिलान्यास गर्दै अध्यक्ष दाहालले एक्लाएक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न नसकिने बताए । उनले आगामि निर्वाचनसम्म सहमति, सहकार्य र एकताका आधारमा गठबन्धनका दलहरु अगाडि बढ्ने बताए । अध्यक्ष दाहालले नेपाली कांग्रेस भित्र एक्लाएक्लै चुनाव लड्नुपर्ने आवाज उठेको भन्दै यसले देशलाई गति दिन नसक्ने बताए । उनले एक्लाएक्लै अघि बढ्ने कुरामा माओवादीको आपत्ति नरहेको भन्दै यसरी अघि बढ्दा देशमा शान्ति प्रक्रिया र संविधान निर्माण हुन्थ्यो भन्दै प्रश्न गरे । उनले कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले जीवनको अन्त्यतिर सहमति, सहकार्य र एकताबाट मात्रै देशको भलो हुन्छ भन्ने अडानलाई बिर्सन नहुने बताए ।
अध्यक्ष दाहालले हाल पार्टीको मात्रै नभई सिंगो राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति रहेको गरेको बताए । देशमा कुनै समस्या पर्ने बित्तिकै त्यसलाई समाधान गर्ने जिम्मेवारी आफ्नै काधमा आउने गरेको भन्दै संकट टार्ने हरेक जिम्मेवारी आफ्नो काधमा आएको बताए । अध्यक्ष दाहालले कार्यकालको अन्त्यतिर पनि भरतपुरमा भइरहेको विकासको गति देखेरै संघीय सरकार चितवनतर्फ पनि केन्द्रीत भएको बताए । उनले यसैस्वरुप माडीमा तटबन्धका लागि करौंडो रकम छुट्याएको र भरतपुरमा स्मार्ट सिटीको अवधारणा अन्तरगत थप ५० करोड रकम छुट्याएको बताए । उनले मकवानपुरदेखि चितवन र नवलपुरलाई जोडेर विकास प्राधिकरणको अवधारणा ल्याउन छलफल समेत चलाएको बताए ।
अध्यक्ष दाहालले भरतपुरको विकासलाई प्रमुख प्रतिपक्षी दल एमालेले राम्रोलाई राम्रो भन्न नसक्नु गम्भिर शंकाको रुपमा रहेको बताए । उनले यस्तै व्यवहारले झुटको खेती भइरहेको आरोप लगाए । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले लामो मेहनतपछि संघीय सरकारबाट बजेट सुनिश्चिता पश्चात महानगरको सुविधासम्म भवन निर्माण थालिएको बताइन् । उनले आफ्नो कार्यकालमा उल्लेखीय विकास निर्माणको काम गरेको भन्दै जनताले मुल्यांकन गर्ने बताइन् । महानगरले हाल कार्यालय रहेको स्थानमै ९४ करोड बढी खर्चमा सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको हो । भवन सात कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य व्यक्त गरिन् भने बागमती प्रदेशका सांसद एवंम पूर्वमन्त्री विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका संघीय परिषद् सदस्य मुस्तफा अलि, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले मन्तव्य व्यक्त गरेका थिए ।