भरतपुर – चैत्र १२ । व्यावसायिक कृषि खेतीमा ड्रोनको प्रयोग हुने भएको छ । परीक्षण सफलतापछि चितवनको व्यावसायिक कृषि खेतीमा बहुप्रयोगका लागि ड्रोन उडाउने तयारी भएको छ । कृषि मेलामा उक्त ड्रोन हाल प्रदर्शनका लागि राखिएको छ । ड्रोन हेर्न र यसको प्रयोगबारे बुझ्नका लागि मानिसहरु प्रदर्शनी केन्द्रमा पुग्ने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा यो प्रविधि भित्रिएको हो ।
गत महिना ३ दिन समय दिएर पश्चिम चितवनका किसानहरुमाझ ड्रोन प्रविधिको जानकारी गराइएको र यसको प्रयोगमा किसानहरु इच्छुक र उत्साहित भएको आपूर्तिकर्ताहरु बताउँछन् । कृषिमा आधुनिकीकरण भित्र्याउने अभियानअन्तर्गत ड्रोन प्रयोग प्रभावकारी हुनेमा विश्वस्त रहेको आयोजनाका कन्सल्टेन्ट रमेश सुवेदीले बताए ।
कृषि बालीमा विषादी छर्नका लागि, परागसेंचनका लागि, पानी छर्कनका लागिसमेत यो प्रविधि प्रयोग गरिने भएकाले यसको बहुउपयोग रहेको कृषि अनुसन्धानकर्ताहरु बताउँछन् ।
कर्मा कम्पनीका सुचित श्रेष्ठले नेपालमै व्यावसायिकरुपमा पहिलोपटक यसको प्रयोग गर्न लागिएको जानकारी दिए । १.४२ हेक्टरमा ४ जना मानिसले १ दिनमा गर्ने काम ड्रोनमार्फत ८ मिनेटमा गर्न सकिने उनले बताए ।
चीनमा बनेको यस उपकरणमा १६ लिटरको जार जडान गरिएको छ । ‘सलहजस्ता कीराको प्रकोपलाई तत्काल नष्ट गर्न यसको प्रयोग मह¤वपूर्ण रहन्छ । मान्छेले समय लगाएर गर्ने काम मेसिनले तत्काल गर्न सक्छ’, श्रेष्ठले भने, यसप्रति किसानहरुको आकर्षण बढ्दो छ ।’ विषादीको प्रत्यक्ष सम्पर्कका कारण मानव स्वास्थ्यमा असर पुग्ने गरेकोमा त्यसको न्यूनीकरण हुने र मानव श्रमशक्ति अभाव भएको अवस्थामा प्रभावकारी हुने उनको भनाइ छ ।
कृषि कर्जामा भने कृषकको आकर्षण देखिएन
भरतपुरमा जारी कृषि मेलामा ठाउँको ठाउँ कृषि कर्जा उपलब्ध गराउने भनिएको थियो, जसअनुसार दर्जन बढी बैंकहरुले स्टलसमेत राखेका छन् । तर, कर्जा लिन इच्छुक व्यक्तिहरु ती स्टलहरुमा कमै भेटिन्छन् ।
‘हामीले यहाँ सहजीकरण गरिदिने हो, बाँकी काम कार्यालयबाटै हुन्छ’, नविल बैंकका सञ्जीव भट्टराईले भने, ‘केही व्यक्तिहरु बुझ्नका लागि आउने गरेका छन् ।’ मेलामा अन्य प्रदर्शनी स्टलहरुमा मानिसहरुको भीड लाग्दा बैंकका स्टलहरु भने प्रायः खाली देखिन्छन् ।
बैंक आफैँ कर्जा प्रवाह गर्न असक्षम भएको अवस्थामा कृषि कर्जा ठाउँको ठाउँ दिइने वा सहजीकरण गरिने काम त्यति प्रभावकारी नभएको स्वयं बैंकका प्रतिनिधिहरु बताउँछन् ।

