हेम राज रिमाल,भरतपुर २०, चितवन :भरतपुर २० को भीमनगरमा अवस्थित लालसम चोकमा सर्वदलिय युवा भेला सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित छलफल भएको भेलामा सहभागी युवा प्रकाश लामिछानेले बताए ।
प्रमुख तीन राजनितिक दलमा आवद्ध युवाहरुले विचार फरक भएपनि विकास र वडाको समृद्धिको मुद्धामा एक हुनुपर्ने तर्क राखेका थिए । राजनितिलाई फोहोरी खेल बनाएर जनतालाई कसैले पनि भम्रमा पार्न अब सम्भव नभएको सहभागी युवाहरुको भनाई रहेको थियो ।
परिवर्तनको लागि अब युवाले नेतृत्व लिने बेला आएको सहभागी युवा सुशिल गुरुङले बताए । “पछिल्लो कामलाई समिक्षा गर्दै अब आउने नेतृत्व हाम्रो भित्रबाट पनि राम्रो हुनुपर्छ ।” गुरुङले भने,“अब युवा एकजुट हुनुपर्छ ।”
भेलामा सहभागी एक युवाले नाम नभन्ने शर्तमा राजनितिक नेतृत्वबाट राम्रो मान्छे उम्मेद्वार नआए सबैलाई मान्य हुने स्वतन्त्र उमेदवार समेत खडा गर्ने गरि गृहकार्य भएको बताए । हावादारी गफले वडा र महानगरको विकास नहुने भन्दै वडाको सर्वोपरि हित, समृद्धि सहितको विकास एजेण्डालाई मात्रै साथ दिन सकिने धेरै जसो युवाहरुको भनाई रहेको थियो ।
छलफलमा बोल्दै सहभागी युवा एंव स्वास्थ्यकर्मी गणेश रेग्मीले अग्रजहरुको सल्लाह लिदै विकासको मुद्धामा वडाका सबै युवाहरु एक हुनु धेरै राम्रो कुरा भएको बताए । भेलामा मानदेव पौडेल, सन्तु रानाभाट, उमेश दुवाडी, सविन लामिछाने, बालकृष्ण काफ्ले, सुवास गुरुङ, उत्तम गुरुङ, सन्तोष पोखरेल लगायत ३० भन्दा बढी युवाहरु सहभागिता रहेको गणेश आचार्यले बताए ।
साथै वडाका सबै टोलबाट प्रतिनिधि सहित १०० बढी भन्दा युवाहरुको सहभागितामा अर्को बैठक चैत्र १९ गते शनिबार बस्ने निर्णय भएको आचार्यले बताए ।

