नेपाली कांग्रेस चितवनले ९८ वटै वडामा कांग्रेस जिताउ अभियान सुरु गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फागुन २९ यता पार्टीका गतिविधिहरु तीव्र बनाएको छ ।
चैत्र २९ गते सम्म अभियान सञ्चालन हुनेछन् । नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्यालले वडा, पालिका र जिल्ला तहका सबै नेता, कार्यकर्ताहरु चुनावी अभियानमा परिचालन भएको बताउनुभयो । जिल्ला पार्टीले चुनाव लक्षित प्रतिनिधिहरु समेत चयन गरेर कामको जिम्मा लगाएको छ । वडाभित्र कांग्रेसका टोल समितिहरु समेत गठन भएका छन् । स्थानीय तहमा खटिएका प्रतिनिधिहरुको उपस्थितीमा हिजो ( शनिबार) समिक्षा कार्यक्रम, प्रभात फेरी, पाटीप्रवेश लगायतका कार्यहरु भएका छन् ।
रत्ननगर १२ शान्तिकुञ्जमा तुलादेवी लामिछानेको सभापतित्वमा महिलाहरु मात्र रहेको नेपाली काँग्रेस शान्तिकुञ्ज टोल समिति गठन भएको छ । नेपाली काँग्रेस चितवनले गत बिहिबार भरतपुरमा बृहत अभिमुखिकरण तथा प्रशिक्षण राखि ७ वटै तहमा खटिने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षित प्रतिनिधिहरुबाट कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिने नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभएको छ ।