भरतपुर,चैत्र १४ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताइन् । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उनको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।
चैत १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन्। प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिका अध्यक्ष राजु चौधरीले जानकारी दिए । रासस