नेपाल औषधी उत्पादक संघले पारासिटामोल ६५० एमजीको दर्ता सम्बन्धमा आएका टिकाटिप्पणीको बिषयलाई लिएर ध्यानाकर्षण गराएको छ।
सोमबार संघले विज्ञप्ति जारी गर्दै पारासिटामोल ५०० एमजीलाई विस्थापित गरेर ६५० एमजी मात्र उत्पादन गरिने भन्ने भ्रमपूर्ण अभिव्यक्ति आउन थालेपछि ध्यानाकर्षण गराएको हो।
विभिन्न राष्ट्रहरुमा र रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आबश्यक दखिएकोले बिरामीको उपचारको लागी सही मात्राको औषधीको अभाव हुन नदिन पारासिटामोल ६५० एमजी उत्पादन गर्न अनुमति पाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिब्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्न अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने छ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राष्ट्रहरुमा र रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आवश्यक दखिएकोले आवश्यक बिरामीको उपचारको लागी सही मात्राको औषधीको अभाव हुन नदिनु नै हाम्रो मूल उद्देश्य रहेको छ।’
बिरामीको प्रकृति अनुरुप औषधीको मात्राको आवश्यकतासाथै प्राविधिक रुपमा उत्पादन गर्न आफूहरु सक्षम भएको हुँदा चैत १० गते औषधि सल्लाहकार समितिले निर्णय गरेको संघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,‘विश्वब्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडिएमा नै प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिएको कुरा सबैलाई जानकारी नै छ। हामी स्वदेशी औषधी उद्योगीहरु बिभिन्न औषधीहरु उत्पादन गर्ने तर औषधीको आबश्यकता औषधी लेख्ने विज्ञहरुको आधारमा अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त विधि, प्रणाली अनुरुप उत्पादन गर्ने गरेको छौँ।’
यस्तै कोभिडको समयमा नेपालमा मात्र नभएरविश्वमै पारासिटामोल ६५० एमजी मात्र नभएर एक हजार एमजीसम्मको डोज प्रयोग भएको विज्ञप्तिमा उल्ल्ख गरिएको छ।
किन विवाद?
गएको बिहीबार स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले ६५० एमजीको पारासिटामोल औषधि व्यवस्था विभागलाई दर्ता गर्न स्वीकृत दिएको थियो।
हालसम्म नेपालमा ५०० एमजीको पारासिटामोल दर्ता हुदै आइरहेको छ। बिहीबार औषधि व्यवस्था विभागले ६५० एमजीको पारासिटामोल दर्ता गर्ने अनुमति पाएपछि उक्त निर्णय विवादमा तानिएको छ।
धेरैले अहिलेको निर्णयले जनस्वास्थ्य माथि खेलवाड गनुने भन्दै बिरोध गरिरहेका छन् भने कतिले यो आवश्यक रहेको टिप्पनी दिन थालेका छन्।
नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने निर्णयलाई जनस्वास्थ्य माथीको गम्भीर खेलवाड भएको आरोप लगाएको छ।
यस्तै नेपाल फर्मास्युटिकल एसोसिएसनले जारी गरेको विज्ञप्तीमा पारासिटामोल ५०० मिलिग्रामको उपलब्धता सहज गर्न समयसापेक्ष मूल्य समायोजन नगरी बढी डोजको चक्की दर्ता गर्ने निर्णय गलत मनसायले गरेको ठहर गरिएको समेत उल्लेख गरिएको छ।
यसअगाडि नेपालका केही उद्योगहरुले ६५० एमजीको पारासिटामोल दर्ताका लागि विभागमा निवेदन दिएका थिए। तर विभागले उक्त विषयमा निर्णय लिएको थिएन।
सरकारले करिब १४ वर्षदेखि पारासिटामोलको मूल्य बढाउन नसकेको भन्दै औषधि उत्पादकहरु विरोध गर्दै आइरहेका छन्।
यो समाचार देशसंचार अनलाईनमा प्रकाशित भएको छ।