चितवन, पुस २० –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री बन्न खोजेका प्रचण्डलाई अबको चुनाव जितेर आउन भनेका छन् । सोमबार नेकपा चितवन (ओली पक्ष)द्वारा भरतपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै बादलले यस्तो बताएका हुन् ।
‘प्रचण्ड प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो । अनेक जालझेल गरेर । अब हामीले संसद विघटन गरेका छौं, उनले भने, ‘अब प्रधानमन्त्री बन्न मन भए चुनावमा जानुस ।’ त्यस्तै उनले नेकपाको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जान पनि चुनौती दिए । उनले भने ‘तपाईंलाई नेकपाको अध्यक्ष बन्न मन छ भने महाधिवेनमा जानुस । कार्यकर्ताको मन जित्नुस । चुनावबाट जितेर अध्यक्ष बन्नुस, उनले भने, ‘तर अनेक जालझेल गरेर गुटबन्दीमा लागेर पार्टी र सरकारलाई असफल बनाउने काम नगर्नुस ।’
पुरानो स।ंसदले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने भन्दै उनले अबको चुनाव प्रचण्डको लागि प्रधानमन्त्री बन्ने मौका भएको बताए । यो मौकामा सहभागी हुन पनि उनले प्रचण्डलाई आग्रह गरेका छन् ।
पार्टी नेतृत्वलाई निकाल्न खोज्नेसँग मिल्नु भनेको राष्ट्रघातको पक्षमा र गणतन्त्रको विपक्षमा उभिनु हो भन्दै उनले आम नेकपाका कार्यकर्तालाई ओलीको पक्षमा उभिन आग्रह गरे । ‘षड्यन्त्र गरेर सरकारलाई असफल पार्नु, पार्टी नेतृत्वलाई असफल पार्नु, विरोध गर्नु, हटाउनु भनेको समाजवादको विरोध गर्नु हो । राष्ट्रघात गर्न खोज्नु हो । संघियाताको विरोध गर्नु हो । गणतन्त्रको विरोध गर्नु हो’ उनले भने, ‘त्यसैले नेतृत्वलाई हटाउनेसँग मिल्नु ठिक हुँदैन ।’
ओलीमाथि आरोप लगाएर, विरोध गरेर, सरकारलाई असफल पारेर प्रचण्ड–माधवले पार्टी फुटाउने षड्यन्त्र पहिल्यैदेखि गरिहेको बताउँदै उनले त्यसैलै आफूहरु पार्टी फुटाउनेहरुसँग मिल्न नसकेको बताए । आफूहरुको भेला नै पार्टीको आधिकारिक भेला भएको बताउँदै उनले प्रचण्ड–माधव पक्षको भेला गुटको मात्र भेला भएको बताए ।
आफूहरु एकताको पक्षमा भएको बताउँदै उनले गुटवादीहरुको पक्षमा लाग्नु ठिक नहुने धारणा राखे । पार्टी चलाउन सही नेतृत्वको आवश्यक पर्ने बताउँदै उनले सही नेतृत्वको रक्षा र गलत नेतृत्वको भण्डाफोर गर्न आफूहरु यहाँ भेला भएको बताए । प्रचण्ड–माधवहरु सही विचार लिएर चुनावमा जान चाहेमा आफूहरु मिल्न तयार रहेको बताउँदै उनले प्रचण्ड–माधवहरुको गलत विचार र सोचका कारण आज यो समस्या आएको बताए ।