चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे।

सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको बताए।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताइन्।
मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमै समाधान गर्न आफूहरू लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सम्भव भएको बताइन्।
यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

