भरतपुर महानगरपालिकाको प्रमुख पदको उमेदवारका लागि नेपाली कांग्रेस चितवनले दवाव बढाउँदै लगेको छ । महानगर प्रमुखको उमेदवार कुन दलको हुने भनेर सत्तागठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरुले केन्द्रीय स्तरमा आफ्ना नेताहरुमाथि दवाव बढाउन थालेका छन् ।
चितवन कांग्रेस सभापतिसहितका नेताहरुले बिहिबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरुले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।
वरिष्ठ नेता पौडेल सत्तागठबन्धनको स्थानीय तहको निर्वाचनको लागि तयारी तथा अनुगमन समितिको संयोजक समेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।
‘उहाँले यसलाई गम्भिर रुपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । केन्द्रीय नेताहरुलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ पुगेका छन् ।
पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।
‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामिलाई छोड्न प¥यो भन्ने अन्तिम बटमलाइन हो ।’
जिल्लाका सात वटै पालिकामा सत्तागठबन्धनका दलहरुबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । नेकपा (माओवादी केन्द्र) पनि महानगर प्रमुख आफुले पाउनेगरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।
समाचार श्रोत : चितवन पोस्ट/
फोटो श्रोत : जितनारायण श्रेष्ठको फेसबुकबाट

