रत्ननगर । चितवनको रत्ननगरमा पाँच दलीय गठबन्धनका कारण एमालेलाई विरासत जोगाउन मुस्किल हुने देखिएको छ । २०५४ र २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएको एमालेलाई यसपटक गठबन्धनको प्रभावका कारण विरासत जोगाउन मुस्किल हुने देखिएको हो ।
पाँच दलीय गठबन्धनका उमेदवारसँग एक्लै प्रतिस्पर्धा गर्दा एमालेलाई निर्वाचन जित्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ । अघिल्लो स्थानीय तह निर्वाचनमा निकै पेचिलो प्रतिस्पर्धा भएको थियो । वैशाख ३० गते हुने निर्वाचनमा एमालेलाई पार्टी विभाजनको असर पर्ने देखिन्छ ।
अघिल्लो निर्वाचनमा मेयरमा नेकपा (एमाले)का उमेदवार नारायण वनले नेपाली कांग्रेसका उमेदवार रुपनराज घिमिरेलाई १ हजार ४५१ मत अन्तरले पराजित गरेका थिए । एमालेले मेयर र उपमेयरसहित १० वटा वडा जितेको थियो । १६ वडामध्ये ६ वटा वडा कांग्रेसले जितेको थियो ।
रत्ननगरमा अघिल्लो निर्वाचनमा माओवादीले एक सदस्य पद पनि जित्न सकेन । अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको राप्रपाले ६२८ पाएको थियो । २०५४ सालमा पनि एमाले नेता वन नै विजयी भएका थिए । विगतको विरासत जोगाउने दाउमा रहेको एमालेलाई गठबन्धनका कारण सोचेजस्तो सजिलो भने छैन ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले सो नगरपालिकामा एमालेको करिब ४ हजार मत काट्ने आकलन गरिएको छ । रत्ननगरमा वडा नं ६, ९ र १४ मा राम्रो प्रभाव देखिएको समाजवादीमा सो नगरपालिकाबाट तीन जना वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य समान दुई÷दुई जना गएका छन् । अधिकांश वडामा पार्टी कमिटी गठन गरेको समाजवादीको मत संख्या चार हजार रहेको आकलन गरिएको हो ।
एमालले रत्ननगरमा निर्वाचन जित्न नेकपा एसले काट्न सक्ने भोट संख्यालाई जतिसक्दो कम बनाउन सक्नु पर्छ । नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत पनि एमालेको पक्षमा तान्न सक्नु पर्छ । रत्ननगरमा कांग्रेसलाई पनि कम आकलन गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेदवार रुपनराज घिमिरेले १३ हजार २२६ मत ल्याएका थिए । उनले ६९७ लोकप्रिय मत ल्याएका थिए । कांग्रेसबाट उमेदवार बनेका वडाध्यक्षको मत जोड्दा १२ हजार ५२८ मत हुन आउँछ ।
एमालेका नारायण वनले एमालेबाट उमेदवार बनेका वडाध्यक्षको भन्दा ७९७ मत बढी ल्याएका थिए । वनले १४ हजार ६७७ भोट प्राप्त गरेका थिए । एमालेका वडाध्यक्षहरुको समग्र मत जोड्दा १३ हजार ८८० हुन आउँछ । माओवादीबाट मेयरका उमेदवार राजु अम्गाई सुवोधले ३ हजार ६७१ मत पाएका थिए । उपमेयरमा एमालेकै विमलादेवी दवाडीले १४ हजार ४८१ मत ल्याएर विजयी भएकी थिइन् ।
त्यस्तै कांग्रेसकी उमेदवार निता ढकालले १२ हजार ७०३, माओवादी केन्द्रकी संगीता भट्टराईले ४ हजार २४ र राप्रपाकी उर्मिला पासवानले ७०१ मत प्राप्त गरेकी थिइन् । कांग्रेसले वडा नम्बर १,२, ६, ७, ११ र १२ गरी ६ वटा वडा जितेको थियो । मेयर र उपमेयर जितेको एमाले ३, ४, ५, ८,९, १०, १३, १४, १५ र १६ नम्बर वडा गरी १० वटा वडा जितेको थियो ।
२०७४ सालको निर्वाचनको मतपरिणामलाई हेर्दा गठबन्धनको मत बढी हुन आउँछ । कांग्रेस र माओवादीको मत जोड्दा १६ हजार ८९८ हुन्छ । एमाले पाएको १४ हजार ६७७ मतमध्ये समाजवादीले करिब ४ हजार मत काट्ने अनुमान गरिएको छ । यसरी हेर्दा गठबन्धन र एमालेको मत संख्यामा ठूलो अन्तर देखिन्छ । नेकपा विभाजन भएपछि एमालेमै बसेका पूर्व माओवादीका नेताहरुका कारण एमालेको मत केही बढ्ने देखिन्छ ।
एमाले चितवनका सचिव प्रकाश खनाल शैलेस रत्ननगर १६ का बासिन्दा हुन् । एमालेमै बसेका पूर्व माओवादीका नेताहरुको प्रभाव वडा नं ३, वडा नं ५ र वडा नं १६ मा राम्रो रहेको छ । पूर्व माओवादीका नेताहरुको कारण रत्ननगरमा माओवादीको करिब ५०० को हाराहारीमा भोट एमालेलाई खस्ने अनुमान गरिएको छ ।
२०७४ मा ४३ हजार १५४ मतदाता रहेको रत्ननगरमा ९ हजार ४८८ मतदाता थपिएका छन् । यी मतदाताको भोट कता जान्छ स्पष्ट भन्न सक्ने अवस्था छैन । अहिले रत्ननगरमा ५२ हजार ६४२ मतदाता पुगेका छन् । नयाँ थपिएको मत नै निर्णायक सम्भावना छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जस्तै यसपटक पनि एमाले र कांग्रेस बीचमै प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन भए पनि माओवादी र समाजवादी कमजोर रहेका कारण मेयर पद कांग्रेसले पाउने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् ।