इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार चौथो जित हात पारेको छ। आइतबार मुम्बईको डीवाई पटेल स्टेडियममा भएको खेलमा हैदराबादले पञ्जाब किङ्सलाई ७ विकेटले हराएको हो।
हैदराबादले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो।
पञ्जाबका लागि लायम लिभिङ्स्टोनले सर्वाधिक ६० रन बनाए। यस्तै शाहरुख खानले २६, ओडेन स्मिथले १३, प्रभसिमरन सिंहले १४, जोनी ब्रेयस्टोले १२ र जितेश शर्माले ११ रन बनाए।
बलिङतर्फ हैदराबादका उमरान मलिकले चार, भुवनेश्वर कुमारले तीन तथा टी नटराजन र जगदीश सुचितले एक–एक विकेट लिए। १५२ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको हैदराबादले १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्यो। उसका लागि एडन मार्क्रमले ४१, निकोलस पुरनले ३५, राहुल त्रिपाठीले ३४ र अभिषेक शर्माले ३१ रनको योगदान दिए।
पञ्जाबका राहुल चाहरले दुई र कासिगो राबाडाले एक विकेट लिए। जितसँगै हैदराबाद अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। पञ्जाब सातौँ स्थानमा छ।