काठमाडौं, वैशाख ५सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।
पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।
अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।
बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ ।