भरतपुर । कोरोनाको महामारीका कारण विगत दुई वर्षदेखि आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) यो वर्षबाट बाह्य मूल्याङ्कनबाट हुने भएको छ । भोलि वैशाख ९ गतेदेखि विद्यार्थीहरुले अन्य स्कुलमा गएर एसइई परीक्षा दिने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीले चितवनमा एसइईको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले भने, ‘परीक्षाको तयारी सकिएको छ, चितवनमा १२ हजार १५८ विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।’ गत वर्ष चितवनमा ११ हजार १८६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । कोरोनाका कारण गत वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर एसइईका लागि अङ्कभार पठाएको थियो । सोही अङ्कभारकै आधारमा नतिजा प्रकाशन भएको थियो ।
यसवर्ष चितवनमा एसइई परीक्षाका लागि ४२ केन्द्र तोकिएको छ । भरतपुर महानगरमा २२, इच्छाकामनामा २, कालिकामा २, खैरहनीमा ४, माडीमा २, राप्तीमा ३ र रत्ननगर नगरपालिकामा ७ वटा केन्द्र तोकिएको छ । विगतका वर्षहरुमा पनि चितवनमा ४२ केन्द्र नै तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइ प्रमुख सुवेदीले भने, ‘छात्राको तुलनामा यसवर्ष छात्र धेरै छन्, ६ हजार १९६ छात्र र ५ हजार ९६२ छात्रा एसइई परीक्षामा सहभागी हुँदैछन् ।’
यसवर्ष विगतमा जसरी होम सेन्टर (आफ्ना विद्यार्थीले आफ्नै विद्यालयमा परीक्षा दिने प्रणाली) राखिएको छैन । चितवनमा यसवर्ष प्राविधिक धारका २३५ विद्यार्थीहरु पनि परीक्षामा सहभागी हुने भएका छन् ।
झुवानी मावि रत्ननगरका दुई र नारायणी मावि भरतपुरका गरी ४ जना दृष्टिविहीनले पनि एसइई परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार चितवनमा १२९ संस्थागत र १०६ सामुदायिक गरी २३५ विद्यालय परीक्षामा सहभागी हुन लागेका छन् ।
यसपटक ग्रेड वृद्धिका लागि चार जना परीक्षार्थीले पनि एसइई परीक्षा दिन लागेका हुन् । ‘परीक्षाका लागि सबै प्रश्नपत्र सम्बधित प्रहरी चौकीमा पुगिसकेको छ, बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षा चल्नेछ’, इकाइ प्रमुख सुवेदीले भने, ‘अन्यको परीक्षा १७ गते र प्राविधिक धारका विद्यार्थीको परीक्षा २० गते सकिनेछ ।’
सरकारले एसइईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताए पनि कार्यान्वयनमा आएको छैन । कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत सञ्चालन हुन लागेको हो ।
कोरोनाका कारण विगत दुई वर्षमा भएका आन्तरिक मूल्याङ्कनबाट भएको एसइई परीक्षाको स्तरीयतामा प्रश्न उठेका कारण बोर्डले पुनः बाह्य केन्द्रहरुबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

