रविन देवकोटा, चितवन– भरतपुर महानगरपालिका वडा नम्बर १४ र १५ मा रहेको प्रचण्ड मार्ग अन्तर्गतको महेन्द्र चोक शिवनगर सडक खण्ड ५ बर्ष देखि अलपत्र बनेको छ। ०७५ साल असारमा नै सिलन्यास भएकाे साे सडक पटकपटक म्याद थप्दा पनि निर्माण हुन नसकेपछि धुलो मात्र उड्ने भएको भन्दै स्थानीय विरोधमा समेत उत्रिएका छन्।
साेहि क्षेत्रबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा नै रहेकाे साे सडक निर्माण अलपत्र परेपछि स्थानीयहरुले ठेक्का सम्झाैता भएकाे कम्पनीकाे डाेजरकाे टाएरकाे हावा समेत स्थानीयले फुकालिदिएका छन्। भरतपुर महानगरपालिकाको मेयर रेणु दहालले पनि विकास निर्माणकाे ठुला गफ गरेकाे तर आफ्नै गृह वडामा निर्माण भइरहेकाे सडकमा समेत ढिलासुस्ती गरेको भन्दै आफुहरुलाइ धेरै सास्ती भएको र अत्याधिक धुलोले दमको रोग समेत बढ्न थालेको स्थानीय सुरज पौडेलले बताउनु भयो।
धुलोको कारणले अगाडि पछाडि बाट आएको गाडी नै नदेखेर दुर्घटना हुने स्थिति समेत सिर्जना भएको भन्दै स्थानीय सफल सिलवालले दुखेसो व्यक्त गर्नुभयो। आफ्नो कुरा सम्बन्धित निकायले नसुनी काममा अझै ढिलासुस्ती भएमा काम गर्न आउने गाडीहरु नै तोडफोड गर्ने र सडक अवरुद्ध गर्ने सर्वसाधारणले चेतावनी समेत दिएका छन्।

