भरतपुर महानगरले ५ वर्षे कार्यकालको समीक्षा पुस्तक सार्वजनिक गरेको छ । संघियता कार्यान्वयनमा आएपछिको जनप्रतिनिधिको पहिलो कार्याकालमा भएका जनप्रतिनिधिहरुको श्वेतपत्रका रुपमा समीक्षा पुस्तक सार्वजनिक गरेको हो ।
मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले आज समीक्षा पुस्तकको विमोचन गर्नुभएको हो । महानगरले सडक निर्माणलाई उच्च प्राथमिकता दिएर काम गरेको उल्लेख छ । ५ वर्षको अवधिमा ६ सय २२ किमि सडक कालोपत्रे गरेको छ । २ सय ४ किमि सडक मर्मत तथा पुनस् निर्माण, १ सय ६५ किमि ग्राभेल सडक निर्माण, २ सय ९५ किमि ग्राभेल सडक स्तरोन्नति, १ सय ९० किमि कच्ची सडक र २४ किमि ढलान तथा मोजाइक सडक निर्माण भएको जनाइएको छ ।
महानगरमा हालसम्म १ हजार १ सय ५ किमि सडक बनिसकेका छन् । ५ वर्षको अवधिमा १३ वटा वडा कार्यालयका नयाँ भवन बनेका छन् । १४ वटा वडा कार्यालयहरु मर्मत भएका छन् । महिला तथा जोखिम समुदायसँग मेयर कार्यक्रम मार्फत ५ सय २४ साइकल छात्राहरुलाई सहयोग गरिएको छ । विकासको लहरसँगै महानगरमा बसाइँसराइ गरि आउनेको संख्या पनि बढेको छ । २०७७ सालसम्म १३ हजार १ सय ९४ जना बसाइँसरि आएको महानगरले जनाएको छ ।
दूध उत्पादन गर्ने किसानलाई ३ रुपैयाँ अनुदानका लागि यो वर्ष ५ करोड १० लाख बजेट विनियोजन गरेको छ । यो अनुदान कार्यक्रमबाट ७ सय किसान लाभान्वित हुने अनुमान छ । महानगरको राजश्व ३ गुणाले बढेको छ । गत वर्ष १ अर्ब ५ करोड राजश्व संकलन भएको उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर मेट्रो प्लाजा, औद्योगिक ग्राम निर्माण, स्मार्ट स्ट्रिट लाइट, महानगरीय सिटी हल, महानगरीय रिंगरोड र लिंकरोड, अटोल्याण्ड, नारायणी नदी सीबीच मोडेल, ल्याण्ड फिल्ड साइट लगायतका १६ वटा गौरवका योजानाहरु कार्यान्वयनका चरणमा पुगेको जनाइएको छ । मेयर दाहालले महानगरमा रुपान्तरणको जग बसेको बताउनुभयो ।
उहाँले जनआकांक्षा अनुरुपका काम केहि बाँकि रहेपनि ५ वर्षमा महानगरले विकासको लहर भित्र्याएको बताउनुभयो । उपमेयर पार्वती शाहले देशकै नमुना महानगर बनाउन आवश्यक पुर्वाधारहरु खडा भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सहसचिव समीक्षा पुस्तक जनताको नासो भएको बताउनुभयो ।

