पत्रकार ऋषि धमलाले पत्रकार आचार संहिता उल्लंघन गरेपछि नेपाल प्रेस काउन्सिलबाट कारवाही स्वरुप एक दिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन्।
धमला प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कँदा जहाजको बिजनेस क्लासमा रिपोर्टिङ गर्ने भन्दै जबर्जस्ती प्रवेश गरेका थिए। यस घटनाको भिडियो क्लिप सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो।
उनको यो कदम पत्रकार आचारसंहिता विपरित भएको भन्दै काउन्सिलले उनलाई तीनदिन अगाडि आचारसंहिता सम्बन्धि एक दिने तालिम लिनुपर्ने निर्णय गरेको थियो।
यही निर्णय कार्यान्वयन गर्न धमला कक्षा लिन गएका हुन्। उनलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले कक्षा लिएका हुन्।