नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीले भरतपुर–२१ को वडा अध्यक्षबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) वडाध्यक्ष अधिकारीले महानगर उपप्रमुख पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा उपप्रमुख ठकुरीले स्वीकृत गरेकी छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उम्मेद्वारी दिन लागेकाले वडा अध्यक्षबाट राजीनामा दिएका अधिकारीले चित्रवन खबरलाई बताएका हुन् । अधिकारी भरतपुर महानगरपालिकाको उपप्रमुख पदका लागि नेपाली कांग्रेसबाट संभावित उम्मेद्वार हुन् । कांग्रेसले उपप्रमुखमा अधिकारीलाई नै टिकट दिने बलियो संभावना छ । उनलाई केहीदिन अघि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटर बोलाएर गठबन्धनलाई बलियो बनाउन निर्देशन दिएका थिए । सोही बेला देउवाले अधिकारीलाई उपप्रमुख बनाउने संकेत दिएका थिए । तथापि उनले यो बिषयमा चित्रवन खबर संग कुरा गर्दै केन्द्रले जिम्मेवारी दिएको खण्डमा मात्र उपमेयरमा दावेदारी गर्ने बताएका थिए भने उनले गठबन्धनको अन्तिम निर्णय नआउँदा सम्म मेयरमा आकांक्षा देखाएका थिए।
गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसलाई दिने सहमति गरेको छ । सोही अनुसार गठबन्धनको तर्फबाट मेयरमा पुनः रेनु दाहाल चुनावी मैदानमा उत्रिदै छिन् । उनले आज मेयरमा ५ वर्षे कार्यकालको समिक्षा कार्यक्रममा राजीनामा दिइ सकेकी छन् ।

