स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा उमेदवारी दिएका गुञ्जनगरका ३५ वर्षीय परशुराम अर्यालले अनिवार्यबाहेकमा चुनाव खर्च नगर्ने बताएका छन् । जनप्रतिनिधि बन्नका लागि शिक्षण पेसा छाडेर आएका अर्यालले वडा अध्यक्ष पदमा आफूलाई जिताउन भन्दै जम्मा पाँच हजार खर्च गर्ने प्रतिबद्धता जनाए । ‘खर्च गर्नैपर्ने ठाउँ उमेदवारी दर्तामा एक हजार, पर्चा छपाइमा तीन हजार र फ्लेक्समा एक हजार गरी जम्मा पाँच हजार रूपैयाँभन्दा बढी खर्च हुँदैन’, उनले भने ।
अन्य उमेदवारहरुले ठूलो धनराशि नै खर्च गरेर मतदाता रिझाउने प्रयास गरिरहँदा भरतपुर–१८ को अध्यक्षका उमेदवार बनेका अर्याल भने आफ्नो योजनाकै आधारमा मतदाताले आफूलाई जिताउने दाबी गर्छन् । ‘वडामा रहेका १२ वटा टोललाई गाभेर ६ वटा बनाउने र घरेलु तथा साना उद्योग सञ्चालन गर्ने, रासायनिक मलको कारखाना स्थापनाका लागि अध्ययन गर्ने र किसानलाई निःशुल्क तालिम, मल र बीउको व्यवस्था गर्ने, विपन्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट (वाइफाइ)को व्यवस्था गर्ने मेरा चुनावी एजेन्डा हुन्’, उनले भने, ‘यिनै एजेन्डाको आधारमा म चुनाव जित्छु भन्ने लागेको छ ।’
आफ्नो वडामा कुनै पनि परिवर्तन नभएपछि बाध्य भएर उमेदवारी दिनु परेको उनले बताए । ‘स्थानीय सरकार आएको पाँच वर्ष बितिसक्दासम्म पनि हाम्रो वडामा कुनै परिवर्तन देख्न पाएनाँै’, उनले भने, ‘त्यसैले मैले स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दर्ता गराएको हुँ ।’ शिक्षणमा कानुनमा एलएलबी (स्नातक) र अंग्रेजीमा स्नातकोत्तर गरेका उनी यसअघि पार्वतीपुरस्थित अन्नपूर्ण कलेज, हिमालय बोर्डिङ, एपेक्स एकेडेमीलगायतमा अध्यापन गर्थे । यो समाचार चितवन पोस्टबाट साभार गरिएको हो।