राजधानीको थापाथलीस्थित द ब्रिटिस कलेजले एक अर्ब ७० करोड रुपैयाँ खर्चिएर आफ्नै भवन बनाउने भएको छ। कलेज यो सहितको प्रयोजनका लागि ६० करोड ५० लाख रुपैयाँ बैंक कर्जा लिने प्रक्रियामा जुटेको छ।
कर्जाका लागि कलेजले रेटिङ एजेन्सी इक्रा नेपालबाट क्रेडिट रेटिङ समेत गराइसकेको छ। इक्रालाई उपलब्ध गराएको विवरणअनुसार नै ब्रिटिस कलेजले आफ्नै कलेज भवनका लागि झन्डै पौने २ अर्ब रुपैयाँ लागतको अनुमान प्रस्तुत गरेको हो। यो लागत जग्गा समेतका लागि भएको कलेजले इक्रालाई उपलब्ध गराएको विवरणमा जनाएको छ।
कलेजको विवरणअनुसार २०२१ मा यसले आफ्नो कारोबार १० प्रतिशत हाराहारीले बढाएको छ। कलेजले २०२१ मा ३४ करोड २७ लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।
यसअघि २०२० मा कलेजले ३१ करोड ७८ लाख रुपैयाँ र २०१९ मा २८ करोड ९५ लाख रुपैयाँको कारोबार गरेको थियो।
त्योभन्दा अघिल्लो वर्ष सन् २०१८ मा एक प्रतिशतले ओरालो लागेको कलेजको व्यापार त्यसपछि भने निरन्तर उकालो लागिरहेको देखिन्छ। कलेजले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी विषयहरु अध्यापन गराउँदै आएको छ।
एक दशकअघि (२०११ मा) स्थापना भएको ब्रिटिस कलेज नेपालमा पहिलो विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएर अध्यापन गराउन थालेको शैक्षिक संस्था हो। बेलायतका दुई विश्वविद्यालयहरु युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र लिड्स बेकेट युनिभर्सिटीबाट ब्रिटस कलेजले सम्बन्धन प्राप्त गरेको छ।
कलेजले नयाँ विषयका रुपमा होटल म्यानेजमेन्ट र फरेन्सिक साइन्स संचालनमा ल्याएपछि कारोबारमा सुधार हुँदै गएको रेटिङ विवरणमा उल्लेख छ। कोरोना महामारीका कारण आइपरेका समस्या र ट्युसन शुल्कमा कलेजले दिएको छुटका बाबजुद २०२० र २०२१ मा कलेजको कारोबार आठदेखि १० प्रतिशतले सुधार देखिएको छ।
विदेशी विश्वविद्यालयको सम्बन्धन पाएका विषय पढ्न पछिल्लो समय बढ्दै गएको मागका कारण २०२१ मा कलेजको अकुपेन्सी ६६ प्रतिशत पुगेको बताइएको छ। २०२० मा कलेजको अकुपेन्सी ६३ प्रतिशत थियो। कलेजले देशका विभिन्न विद्यालय र कलेजहरुमा पनि लगानी गरेको छ।
ब्रिटिस कलेजमा एकै परिवारको लगानी छ। कलेजका अध्यक्ष उपेन्द्र शर्मासँग सात प्रतिशत सेयर स्वामित्व रहँदा उनका दुई छोराहरु राजेन्द्र कँडेलसँग ४९ प्रतिशत र महेन्द्र राज कँडेलसँग ४४ प्रतिशत छ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएको कलेजले संचालनमा आएको १५ वर्षभित्र आफ्नै भवन निर्माण गर्नुपर्ने सरकारी प्रावधानका कारण कलेजले खर्च गर्नुपर्ने अवस्था रहेको बताइएको छ।
यसका लागि कलेजले जग्गा खरिद गरिरहेको छ। समग्र परियोजनाको अनुमानित लागत जग्गासहित एक अर्ब ७० करोड रुपैयाँ रहेको जनाइएको छ। कलेजले ६० करोड ५० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ।
इक्रा नेपालले ६० करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि एल डबल बी र ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ दिएको छ।