कलाकार तथा स्ट्यान्ड अप कमेडियन सन्दीप क्षेत्रीले भरतपुर महानगरपालिकामा रेनु दाहालको पक्षमा मत मागेका छन्। भरतपुर पुगेका सन्दीप क्षेत्री चुनावी सभामै पुगेर दाहालको पक्षमा बोलेका हुन्।
‘चितवन मेरो ससुराली गाउँ पनि हो। म अर्कै कामले यहाँ आएको थिएँ। आज रेनु दिदीको सभा छ भन्ने थाहा पाएर यहाँ आएँ,’ उनले भने, ‘म यहाँ आउनुभन्दा अगाडि आमालाई सोधेँ – दिदीको कार्यक्रम रहेछ जाउँ? आामाले भन्नुभयो तँ कलाकार कुनै पार्टीको लागि होइन। संगठनको लागि बोल्ने होइन। देशको लागि बोल्ने हो। त्यो केटीले देशको लागि काम गरेको छ। गएर बोल भन्नुभयो।’
उनले आफूले पहिला देखेको चितवन र अहिलेको चितवनमा फरेक देखेको बताए। उनले रेनुलाई ‘रेनु दाहाल’ नभन्ने भन्दै ‘दाहाल’ जोड्दा बुवाको नाम आउँछ भने।
‘म कमरेड प्रचण्डलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् छोरी गजबको पाउनु भएको छ। तपाईँ पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने त्यो स्वभाविक हो। तर, पिताको हैसियतले गौरवान्वित हुनुस्,’ उनले भने।
उनले पटक पटक कुनै राजनीतिक दलको सदस्यता नलिएको प्रष्ट पनि पारेका थिए।
‘चितवनका हरेक मानिसको दु:ख कष्टलाई हरेक दिदीले तिहारमा ओखर फोडे जसरी फुटाइदिनुस् दिदी। चितवनलाई सप्तरंगी माला लगाइदिनुस् दिदी। सबै चितवन बासीलाई सुख मिलोस्। चितवनले भन्न पाओस् दिदी पाएँ। तपाईँलाई मेरो इस्ट, मेरो कुल, मेरो पितृको आशिष लागोस्।’
उनले गलत गरे त्यही पितृको श्राप लाग्ने भन्दै सन्दीप रेनुलाई सचेत पनि गराए।
‘यति भन्दा भन्दै म फेरि भन्छु म कुनै झण्डाको मान्छै होइन भाइ। म कुनै पार्टीको मान्छे होइन। तपाईँले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको मान्छे हुँ। भोको मान्छे हुँ केही दिँदा खुशी लागेको मान्छे हुँ,’ उनले भने, ‘आशिष लगोस् भने। तर, फेरि सचेत गराउन चाहन्छु। यदि केही गलत गर्नुभयो भने – मेरै कुल मेरै इष्ट, मेरै पितृको श्राप पनि लाग्न सक्छ दिदी। त्यसकारण होसियार रहनुहोला। बहुत विश्वास गरेको छु। विश्वास कायम गरिदिनुहोला।’

