चितवन, २६ वैशाख । चितवनमा एक पुरुषको छुरा हानी हत्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो ।
भरतपुर–७ कृष्णपुर खेलमैदाननिर आज साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार परियारको शरिरमा १० भन्दा बढी छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।
छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।
घटनापछि आज विहान भरतपुरका दुई चोकमा टायर बालिएको छ । मिलनचोक र आस्था चोकमा टायर बालिएको हो । टायर बालेको क्षेत्रमा कोही देखिदैनन् । कस्ले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । विहानसम्म प्रहरीले घटना कस्ले र किन गर्यो भन्ने पत्ता नलागेको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

