मकवानपुर,वैशाख-२९ : मकवानपुरका १० वटै पालिकामा मतदान केन्द्र तयार भएको छ । भोलि शुक्रवार हुने चुनावमा यहाँका तीन सय ६५ मतदान केन्द्रबाट मतदान हुँदैछ । यस्तै एक सय ६५ वटा मतदान स्थल रहेका छन् । चुनावलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीहरूले स्थानीयस्तरमा राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्ने काम भइरहेको छ ।
यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए–नभएकोबारे अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुरको १० पालिकाका एक हजार नौ सय जनाभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाध्यक्षमा चार सय ३५, खुला वडा सदस्यमा सात सय २८, महिला वडा सदस्यमा तीन सय ५० र दलित महिला वडा सदस्यमा तीन सय जना उम्मेदवार रहेका छन् ।

