भरतपुर । मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने वित्तिकै बसेको सर्वदलीय बैठकमा अब देखि कुनै पनि उमेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको मतगणना स्थलमा रहेका चितवन पोष्टका संवाददाता दिपेन्द्र अधिकारीले जानकारी दिए ।
मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको अधिकारीले बताए ।
भरतपुर–२ को ८ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।
मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६१९ मत पाएका छन् ।

