मकवानपुरको थाहा नगरपालिका–७ को वडाध्यक्ष पदको पुन मतगणना हुने भएको छ । मतगणना सकिनै लाग्दा कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले फरकरफरक मत आएको दाबी गरेपछि विवाद भएको थियो । थाहाका निर्वाचन अधिकृत तीर्थराज भट्टराईले दलका प्रतिनिधिहरुले फरक÷फरक मत दाबी गरेपछि विवाद भएको जानकारी दिए । विवाद भएपछि वडाअध्यक्षकै उम्मेदवारले पुनः मतगणनाक लागि निवेदन नै दिएपछि पुनः मतगणना गर्ने निर्णय गरिएको भट्टराईले बताए ।
थाहा–७ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट शिवराज थिङ, माओवादी केन्द्रबाट बिनायक गोले र नेकपा एमालेबाट शम्भु खत्री उम्मेदवार छन् । मतगणनामा एमालेका उम्मेदवार खत्री तेस्रो स्थानमा थिए । स्थानीय नेताहरुका अनुसार मतगणना सकिएपछि माओवादी केन्द्रका प्रतिनिधिहरु १० मतले जितियो भन्दै बाहिरिएका थिए । तर, कांग्रेसका प्रतिनिधिहरुले कांग्रेसको मत बढी रहेको दाबी गरेपछि विवाद भएको थियो । निर्वाचन अधिकृत भट्टराईले पनि १० मतमा विवाद भएको जानकारी दिए । ‘विवाद बढ्दै गएपछि वडा अध्यक्षका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दिनुभयो । निवेदन कानुन सम्मत नै आएकाले पुनः मतगणना गर्ने निर्णय गरिएको हो’ भट्टराईले भने । निर्वाचन अधिकृत भट्टराईका अनुसार चार जना वडा सदस्यको परिणाम भने घोषणा गरिएको छ । चारै जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।
वडा नम्बर ७ मा २३६५ मत खसेको थियो । ९३५ मत ल्याएर हरिमाया बुलुन महिला सदस्यमा, ९१० मत ल्याएर हरिमाया विश्वकर्मा दलित महिला सदस्यमा, ८८६ मत ल्याएर बलबहादुर गोङ्बा र ८६० मत ल्याएर देवेन्द्र थापा मगर खुला सदस्यमा निर्वाचित भएका छन् । यसअघि नै मतगणना भइसकेको वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रबाट हेरमान नेपाली निर्वाचित भएका छन् । वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रबाटै बमबहादुर सिङ्तान विजयी भएका छन् । वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादी केन्द्रका हिरेन्द्रकुमार रायमाझी निर्वाचित भएका छन् । वडा नम्बर ४ को वडा अध्यक्षमा पनि माओवादी केन्द्रकै नारायण लामा निर्वाचित भएका छन् । वडा नम्बर ५ को वडाअध्यक्षमा एमालेका विष्णुबहादुर गुरुङ र वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।