भरतपुर । भरतपुर महानगरपालिकामा एक लाख २५ हजार ८४२ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं २८ र २९ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा मतगणना सकिएको हो । अब ९१२ मतमात्र गणना गर्न बाँकी रहँदा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उमेदवार जितको नजिक पुगेका छन् ।
महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई १२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी हुन् । दाहालले ५१ हजार ११२ मत प्राप्त गर्दा सुवेदीले ३८ हजार ९७२ मत प्राप्त गरे । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ मत प्राप्त गरे ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरूङलाई २१ हजार ५७७ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ५१ हजार ९०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ३२६ मत प्राप्त गरिन् ।
भरतपुरको अहिलेसम्म २७ वडाको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ गरी १५ वटा वडा जितेको छ । त्यसै नेकपा एमालेले ३, ११, १२, १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३, २४, २६ मा जित्न सफल भएको छ । यस्तै वडा नं २५ मा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

