भरतपुर, १२ जेठ
भरतपुर महानगर क्षेत्रमा अटोरिक्सा र म्याजिक भ्यानहरु दर्ता कार्य रोकिएको छ । श्रम, रोजगार तथा यातायात मनत्रालय बागमती प्रदेशले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तहको सिफारिस विना म्याजिक भ्यान र अटोरिक्सा दर्ता नगर्न मकवानपुर र चितवनको यातायात सेवा कार्यालयलाई निर्देशन पठाएको छ । यसअघि सवारीधनीले यातायात व्यवस्था कार्यालयमै पुगेर दर्ता गर्न पाएका थिए भरतपुर महानगरले साना चार पांग्रे म्याजिक भ्यान र तीन पांग्रे अटोरिक्सा जस्ता सार्वजनिक सवारीको चाप बढेकाले सवारी आवागमन अस्तव्यस्त भएको भन्दै व्यवस्थित गर्न प्रदेशस्तरीय मन्त्रालयमा पत्राचार गरेको थियो ।
मन्त्रालयले अर्को निर्णय वा सूचना नआएसम्म भरतपुर महानगरपालिकामा रुट लिई चल्न चाहने म्याजिक भ्यान र अटोरिक्सालाई स्थानीय तहको सिफारिसमा मात्र दर्ता गर्न परिपत्र गरेको छ । यही जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णयले सिफारिस अनिवार्य गरेको हो । चितवनमा २ हजार बढी अटोरिक्सा र ७ सय बढी म्याजिक भ्यानहरु सञ्चालनमा रहेको अनुमान छ । मुख्य बजारहरुमा साना सवारीको चाप व्यवस्थापन गर्न भन्दै महानगरले हाइवे क्षेत्रमा तीन पांग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।
तीन पांग्रे सवारीको व्यवस्थापनका लागि त्रिदेव यातायात प्रालिले समेत महानगरमा बेलाबखत ध्यानाकर्षण गराउँदै आएको थियो । त्रिदेव यातायात प्रालि चितवनका अध्यक्ष वीरेन्द्र लामिछानेले नयाँ अटोरिक्सा दर्ता कार्य रोकिएकोमा खुशी व्यक्त गर्नुभयो । “पहिल्यै दर्ता भैसकेका अटोरिक्साहरु व्यवस्थापन गर्न लागौँ, अन्य अटोरिक्सा दर्ता गर्न सिफारिस नगरौँ”, उहाँले भन्नुभयो, “दर्ता गर्न सिफारिस अनिवार्य हुनु स्वागतयोग्य छ ।”

