औसत समयभन्दा एक साताअघि नै यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको छ।
सामान्यतया १३ जुनमा मनसुनी वायु नेपाल प्रवेश गर्ने भए पनि यो वर्ष ५ जुन (जेठ २२ गते) मै मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै प्रदेश १ बाट मनसुन नेपाल प्रवेश गरेको जनाएको हो। यद्यपि, यो मनसुनी वायु नेपालका अन्य भूभागमा प्रवेश गरेर फैलिन केही दिन लाग्ने बताइएको छ। देशको पूर्वी भागबाट छिरेको मनसुनी वायु क्रमशः पश्चिमतिर सरेर देशभरि फैलिन्छ।
जूनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिणएशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। नेपालमा उक्त अवधिमा कुल वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुन्छ।
नेपालको कृषि प्रणाली मनसुनी वर्षामा आधारित भएकाले यसको अर्थ-सामाजिक महत्त्व पनि ठूलो छ।