काठमाडौं महानगरपालिकाको फोहर मंगलबारदेखि नै उठाउने सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका तथा ककनी नगरपालिकाका प्रतिनिधिबीच सोमबार भएको वार्तामा सहमति भएअनुसार मंगलबारदेखि नै फोहर उठ्ने भएको हो।
सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी नगरपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन्।
सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको रोहबरमा यो सहमति भएको हो।
सहमतिअनुसार फोहरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्त उठाई लैजानका लागि जेठ २४ गतेदेखि नै उठाउने र माटोले फोहर छोप्ने व्यवस्था मिलाइनेछ।
यस्तै, काठमाडौं महानगरपालिकाले धुनिवेसी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बिमा गर्ने र यो कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौंले साउन १ देखि उपत्यकामा उत्पादन हुने फोहरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
धुनिवेसी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरुको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ।
यस्तै, सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्ना ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गरिएको जनाएको छ।

