नारायणगढ । आमसर्वसाधारणले बजारका मुख्य चोकहरुमा सार्वजनिक शौचालय हुनुपर्ने आवाज उठाउँदै आएको पनि वर्षौं भइसक्यो । तर, सरकारले बसपार्कबाहेकका क्षेत्रमा सार्वजनिक शौचालय बनाउन सकेको छैन । भएका शौचालय पनि सडक स्तरोन्नतिले भत्काइएपछि चितवनमा सार्वजनिक शौचालय बसपार्कमा मात्रै सीमित बन्न पुगेको छ । यही परिप्रेक्ष्यमा चितवनका केही होटल व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय घोषणा गरेका छन् । काठमाडौँमा मेयर बालेन्द्र शाह (बालेन)को अनुरोधका कारण केही होटलले निःशुल्क शौचालयको व्यवस्था मिलाएपछि त्यसको प्रभाव चितवनमा पनि परेको हो ।
पालिका फरक भए पनि राम्रो कामको सिको जसले जता गर्दा पनि हुने भन्दै चितवनका व्यवसायीले पनि शौचालयलाई सार्वजनिक बनाएका हुन् । लायन्सचोकबाट क्षेत्रपुर जाने चोकमा रहेको प्याराडाइजले बालेनको ‘स्केच’सहित निःशुल्क सार्वजनिक शौचालय सेवा भनेर बोर्ड नै राखेको छ । बालेनको समर्थनसँगै आमसर्वसाधारणलाई सहजताका लागि नयाँ अभ्यास थालेको प्याराडाइजका रोहन सिंखडाले बताए ।
‘बालेनले काठमाडौँमा प्रयास गरे पनि त्यही काम चितवनमा गर्दा चितवनकै बजार राम्रो हुन्छ भने किन नगर्ने भनेर हामीले सुरूवात गरेका हौँ’, उनले भने, ‘हामी र हाम्रा सेवाग्राहीले प्रयोग गरिरहेकै शौचालय खुला छोड्दा हामीलाई कुनै घाटा हुने होइन ।’
शहीदचोकस्थित होटल जमघटले पनि बालेनको तस्बिरसहित निःशुल्क सार्वजनिक शौचालय घोषणा गरेको छ । बालेनले काठमाडौँका लागि गरेको परिकल्पना मन परेपछि आफूले पनि सार्वजनिक शौचालय घोषणा गरेको सञ्चालक कृष्ण भट्टले बताए । ‘मैले मेरो होटलमा सार्वजनिक शौचालय राख्नु भनेको भरतपुर महानगरपालिकालाई सहयोग गर्नु हो’, उनी भन्छन्, ‘भोलि बजारमा जोसुकैले पनि यसरी नै शौचालय खुला गरिदियो भने सरकारले सार्वजनिक शौचालय बनाउनै पर्दैन । त्यसले हामीलाई नै आर्थिक भार कम पर्ने हो ।’
होटल व्यवसायी संघ चितवनका उपाध्यक्षसमेत रहेका उनले जिल्ला प्रशासन चोकमा रहेको जमघटमा पनि खुला गरिएको जानकारी दिए । ‘निःशुल्क शौचालय राखिदिएपछि शौचालय प्रयोग गर्नेहरुबाट थप व्यापार पनि हुँदोरहेछ’, उनी थप्छन्, ‘यो त हामीले धेरै पहिलेदेखि नै गर्नुपर्ने काम रहेछ, ढिलै भए पनि सुरू गरेका छौँ ।’ होटलमा आउने ग्राहकले प्रयोग गर्ने शौचालयलाई नै खुला छाड्दा कुनै समस्या नहुने उनको भनाइ छ । होण्डा शोरूमले पनि सार्वजनिक शौचालयको निःशुल्क व्यवस्था मिलाएको छ ।
पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, पुलचोकजस्ता मह¤वपूर्ण सार्वजनिक क्षेत्रमा भने सार्वजनिक शौचालय छ, तर निःशुल्क छैन । शौचालय प्रयोग गरेबापत शौचालयको भित्तामै क्रमशः रू. ५, रू. १० र रू. २० भनेर लेखिराखेको छ । बसपार्क क्षेत्रका होटल व्यवसायी भने होटलको शौचालय पनि सार्वजनिक शौचालयसरह नै प्रयोग भइरहेको बताउँछन् ।
‘कुनै पनि होटलले निःशुल्क सार्वजनिक भनेर बोर्ड नराखे पनि बसपार्कका होटलहरु सार्वजनिकरुपमै प्रयोग भइरहेका छन्’, होटल सतनचुलीका सञ्चालक बद्रि अधिकारी भन्छन्, ‘बसपार्कभित्रको शौचालयमा गयो भने शुल्क बुझाउनुपर्छ, होटलमा आए सित्तैमा प्रयोग गर्न पाइन्छ ।’ होटलमा छिर्न असहज मान्ने परिपाटीले मात्रै सार्वजनिक हुन नसकेको उनको भनाइ छ । ‘बालेनले ल्याएको परिकल्पना ज्यादै राम्रो छ, भरतपुर–नारायणगढमा पनि अभ्यास थालिनु आमसर्वसाधारणको लागि राम्रो कुरा हो’, उनी भन्छन् ।
तर, होटलको शौचालय सार्वजनिक गराउँदा जोखिम पनि उत्तिकै हुने भएकोले सतर्कता अपनाउन जरूरी रहेको उनको भनाइ छ । बरू पेट्रोल पम्पहरुमा अनिवार्य सार्वजनिक शौचालयको प्रयोग लागू गराउनुपर्ने उनले सुझाव दिए । ‘तेल हाल्न पम्प पुग्नैप¥यो, तर त्यहाँ सार्वजनिक शौचालय हुँदैन, भए पनि शुल्क लिन्छ’, उनले भने, ‘पम्प सञ्चालन गर्दा सार्वजनिक शौचालय बनाउनुपर्ने मापदण्ड अनिवार्य भएकोले स्थानीय तहले आफ्नो पालिकामा रहेका पम्पहरुले निःशुल्करुपमा सार्वजनिक शौचालय प्रयोग गराएको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।’
उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले भने पुलचोकस्थित कैलाश पेट्रोल पम्पमा रहेको सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क बुझाउनु परेको बताए ।
स्रोत : चितवनपोस्ट

