काठमाडौं,जेठ २९ : बिजुलीको हाइटेन्सन लाइनको तारमा चढेर शनिबार दिनभर तनाव दिएका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ का ४२ वर्षीय माइला भन्ने हिमबहादुर सुनार विक अहिले आश्रममा छन्।
नेपाली सेनाले शनिबार साँझ उद्धार गरेका माइलालाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिकास्थित नवजीवन परोपकार संस्थामा बुझाएको थियो। प्रहरीले संस्थालाई बुझाउँदै माइलाको उपचार तथा हेरचाह गर्ने जिम्मा दिएको छ। अहिले संस्थामा उनलाई काउन्सिलिङ गरिरहेको र डाक्टरको परामर्शमा उपचार पनि सुरु गरिने संस्थाले जानकारी दिएको छ। माइलाले भने आफू पारिवारिक तनावमा रहेको बताउने गरेका छन्।
‘पारिवारिक तनावकै कारण आफू बिजुलीको तारमा मर्न भनेर चढेको बताउनु भएको छ। उहाँका तनावका विषय हामीले धेरै कोट्याएनौं, दुर्व्यसनमा पनि फस्नु भएको रहेछ। बिहानैदेखि चुरोट र गाँजा मागिरहनुहुन्छ’, संस्थाका एक पदाधिकारीले भने।