प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकको बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरूले संशोधनको प्रस्ताव राखेका थिए । एमाले सांसदहरू हिक्मत कुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्लब अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए ।
उनीहरूको प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीहरू शेरधन राई र भीम आचार्यसहित २० जना सांसदहरूले बोलेका थिए । आइतबारकै बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक-फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।