भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनले वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । युनियनले आज आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा अस्पताल परिसर र केही खाली ठाउँमा वृक्षारोपण गरिएको युनियनका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । वातावरण संरक्षण, सुन्दरता र स्वच्छ वातावरणको लागि वृक्षारोपण अपरिहार्य रहने अध्यक्ष शर्माले बताए ।
केही दिन अघिको वर्षासहितको हावाहुरीले अस्पताल परिसरको धेरै रूख ढलेको तथा केही रूख क्षतिग्रस्त भएकाले वृक्षारोपण कार्यक्रम गरिएको उनले बताए । बोटबिरूवा हुर्काउन सके मात्रै मानव जातिलाई जीवन यापना गर्न सहज हुने भएकोले वार्षिकोत्सवमा यस्तो कार्यक्रम गरिएको उनको भनाइ थियो । खाली ठाउँमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गर्नसकेमा प्राकृतिक सन्तुलनसँगै अस्पतालको सुन्दरता समेत बढ्ने अध्यक्ष शर्माले बताए । सो वृक्षारोपण कार्यक्रममा हर्रो, बर्रो, अमला, कागती जस्ता औषधिजन्य वनस्पति सहित ४ सय ५० वटा बोटबिरूवा रोपिएको युनियनका सचिव शिवप्रसाद बसेलले जानकारी दिए । युनियनका अध्यक्ष कृष्ण प्रसाद शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रमुख अतिथि एवम् अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेल विशिष्ट अतिथि रहेका थिए ।

गत कार्तिक १० गते बुधवार भरतपुरमा भएको ८ औं अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो । युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल रहेका छन् । युनियनको कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र सहसचिवमा राजनबाबु तिवारी रहेका छन् । यसैगरी, सदस्यहरुमा इरिना प्रधान, बुद्धलाल गुरूङ, अनुजा खनाल र रमा रिजाल रहेकी छिन् । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको साझा संस्था हो । कार्यसमितिको कार्य अवधि २ वर्षको रहनेछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । यस वर्ष जेठ २२ गते यस दिवसको अवसरमा विभिन्न संघसंस्थाले वृहत् वृक्षारोपण कार्यक्रम गरेका थिए ।

