बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।
जेठ १४ गते राति बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनाधिकृत रूपमा पूर्वनासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई जिम्मेवारी दिएको तथ्य सार्वजनिक भएपछि शर्माले पद छाड्नुपर्ने आवाज संसददेखि दलहरूभित्र समेत उठिरहेको छ।
नेकपा माओवादी केन्द्रभित्रै पनि शर्मालाई पदबाट हटाउनुपर्ने दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले भने उनलाई पदमा यथावत काम गर्न मन्त्रिपरिषद बैठकमै निर्देशन दिएका हुन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा बजेट निर्माणमा शर्माले गरेको खेलाचीको विषयमा अरू मन्त्रीहरूले समेत खुलेर चर्को आलोचना गरेको एक मन्त्रीले जानकारी दिए। शर्माका कारण सरकारको छवि धमिलिएको र यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने कुरा मन्त्रीहरूले बैठकमा राखेका थिए।
एक मन्त्रीले भने, ‘त्यस विषयमा बैठकमा कुरा भयो। अर्थमन्त्रीज्यूले गरेको कामको साथीहरूले असहमति जनाउनुभएको हो।’
अरू मन्त्रीहरूले आलोचना गरेपछि शर्मा रक्षात्मक भएका थिए।
उनले यदि प्रधानमन्त्री भन्नुहुन्छ भने आफू राजीनामा दिन तयार रहेको बताए। तर प्रधानमन्त्री देउवाले रोकेको स्रोतले बतायो।
‘अर्थमन्त्री शर्माले म राजीनामा दिन्छु भन्नुभयो’, स्रोतले अगाडि भन्यो, ‘तर प्रधानमन्त्रीले उहाँलाई रोक्नुभयो। तपाईं काम गर्नुहोस्, त्यता नलाग्नुस् भन्ने निर्देशन दिनुभयो।’
शर्माले आफ्नो तर्फबाट आगामी आर्थिक वर्षका लागि करका दर हेरफेरका गर्न बजेट निर्माणमा संलग्न अर्थसचिवहरू मधु मरासिनी र कृष्णहरि पुस्करको टोलीलाई पूर्वनासु घिमिरेले जे भन्छन् त्यही मान्न निर्देशन दिएका थिए। घिमिरेले भनेझैँ करका दरहरू हेरफेर गरिएको छ।
अर्थमन्त्रीको स्वीकृतिमा घिमिरेले छानीछानी व्यापारिक घरानाहरूलाई फाइदा हुनेगरी करका दर हेरफेर गरेका छन्। केही सामानको कर निर्धारण गर्न छुटेको छ।
शर्माको राजीनामा प्रधानमन्त्री देउवाले रोक्नुले व्यापारिक घरानाको फाइदाका लागि गरिएको करका दर हेरफेरमा उनको समेत समर्थन रहेको आशंका जन्मिएको छ।
प्रधानमन्त्रीले राजीनामा रोके पनि संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले भने अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध पारेको छ। सोमबार आफ्नै स्थगन प्रस्तावमाथि कार्यसूचीमा भएकाले सामान्य विरोध जनाएर सदन चलाउन तयार देखिएको विपक्षी एमाले मंगलबारदेखि भने कडा रुपमा प्रस्तुत भएको छ।
एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग अघि सारेको छ। मंगलबार शर्माले संसदमा घटना तथ्यहिन रहेको जवाफ दिए पनि एमालेले त्यसप्रति असहमति जनाउँदै संसद अवरुद्ध पारेको थियो।
शर्माले आफ्नो बचाऊ गर्दै भनेका थिए, ‘बजेट निर्माण गर्दा राजस्वको दरहरू गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्याे भन्ने सन्दर्भमा जुन विषय उठेको छ। त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु।’
एमालेले घटनाका छानबिन गर्दै बुधबार पनि संसद अवरोध जारी राख्ने तयारी गरेको छ।
प्रचण्डले गरे मन्त्रीसँग छलफल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री शर्मा विवादमा तानिएपछि दोस्रोपटक छलफल गरेका छन्।
आइतबार अर्थमन्त्री शर्मासँग मात्रै कुराकानी गरेका दाहालले मंगलबार भने उनीसहित उर्जामन्त्री पम्फा भुसाल र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलसहित सामूहिक छलफल गरेका छन्।
स्रोतका अनुसार दाहालले तीनैजना मन्त्रीको कामप्रति असन्तुष्टि जनाएका छन्।
समाचार स्रोत : देशसंचार

