नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गरिएको बताएका छन् ।
आज (शुक्रबार) भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षप्रचण्डले स्थानीय तहको निर्वाचनले संविधान संस्थागत हुने काम भएको भन्दै स्थानीय सरकारलाई अब कसैले पनि भत्काउन नसक्ने बताए । उनले स्थानीय निर्वाचनलाई सफल बनाउन सकिएको भन्दै ठट्यौली पारामा भने–‘अहिले नेपाली कांग्रेसले जिते पनि, समाजवादी र एमाले जसले जिते पनि मैले जिते जस्तो लाग्छ ।’
अध्यक्ष प्रचण्डले एकता पक्षधर र एकता विरोधी पक्षधरबीच अहिले राजनीतिक लडाई भइरहेको बताए । आफूहरु मिलेर अगाडि बढ्ने पक्षधरमा रहेको भन्दै दाहालले प्रदेश र संघको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम रहने बताए । त्यति मात्र नभई अझै परसम्म शान्तिप्रक्रिया टुंग्याउने विषय र विकासको नयाँ युगमा जाने क्रममा पनि सामूहिकतामा जाने बताए ।
अध्यक्ष दाहालले अझै पनि संविधान जोखिममा रहेको भन्दै सबै खाले चुनौतिलाई सामना गर्न गठबन्धनको सरकार अगाडि बढेको बताए ।