रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।
प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।
३० चैत साँझ करिब साढे ८ बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । घर पक्षले विष सेवन गराएर मारेको भन्दै माइतीपक्षले प्रशासन धाएको थियो ।
अमृताको नाममा विद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरिदिने, मृतकका नाबालक छोराको हेरचाहका लागि घरपक्षबाट नियमित रेखदेख र खर्च उपलब्ध गराउने सहमति भएकाे छ ।