भरतपुर । नेपाली संस्कार तथा धार्मिक परम्पराअनुसार बरपीपललाई काट्न हुँदैन भन्ने मान्यता छ, किनकि बरपीपललाई धार्मिक परम्पराअनुसार पूजाआजा गर्ने गरिन्छ । तर, पछिल्लो समय विकासका नाममा मुख्य राजमार्ग क्षेत्रमा अवस्थित वर्षौं पुराना चौतारी सडक विस्तारका क्रममा सखाप पारिए, जसले गर्दा सडकछेउ भएको हरियो अहिले उदाङ्गो बनेको छ । विशेषगरी, पूर्व–पश्चिम राजमार्गमा पर्ने सबै चौतारी सडककै कारण ध्वस्त भए ।
बजारी क्षेत्रमा सडककै स्तरोन्नतिका क्रममा चौतारी सखाप पारे पनि गाउँ तथा भित्री बजारहरुमा भने चौतारी संरक्षण हुन थालेको छ । विशेषगरी, मुख्य राजमार्गभन्दा बाहेकका स्थानमा हुर्किंदै गरेका चौतारीलाई प्रतीक्षालय नै बनाउने गरी टोल तथा स्थानीय मिलेर संरक्षण गर्नेक्रम बढ्दै गएको छ । गर्मी होस् या जाडो सबै मौसमका लागि चौतारी अपरिहार्य भएको भरतपुर–११, बसेनीका नीरबहादुर गुरूङ बताउँछन् ।
गुरूङको घरको आडैमा केही वर्ष पहिले रोपेको बरपीपल र समीको बिरूवा हुर्किंदै छ । बसेनीको पुरानो हाटबजारबाट भोजाड हुँदै गोन्द्राङ पुग्ने नारायणी लिफ्ट सिंचाइको नहरको डिलमा रहेको बिरूवालाई चौतारीको रुप दिन उनी र उनको टोल कस्सिएर लागेका छन् । समुदायस्तरमै चन्दा संकलन गरेर भए पनि चौतारीलाई मूर्तरुप दिन केही दिनयता उनी व्यस्त छन् । ‘भएका चौतारी सबै मासिएपछि वृद्ध बाआमा सुस्ताउने ठाउँ पनि भएन’, उनी भन्छन्, ‘त्यसैले हामी चौतारी संरक्षणमा जुटेका छौँ ।’
बसेनीकै पुरानो हाटबजार क्षेत्रमा रहेको चौतारीलाई पनि संरक्षण गरिएको छ । सडकछेउमा पर्ने चौतारी मासिए पनि खाली जग्गाको बीचमा रहेको चौतारीलाई भने पेटी बनाएर संरक्षण गरिएको स्थानीय दिनेश मेघी गुरूङले जानकारी दिए । बाइपासको सडक भएर यात्रा गर्ने यात्रुका लागि पनि चौतारीले पर्खाइको काम गर्ने हुँदा टोलवासी मिलेर यसलाई संरक्षण गरिएको उनको भनाइ छ ।
भरतपुर–११, गोरखाली टोलमा पनि एउटा समीको चौतारी संरक्षण गरेर पार्कजस्तै बनाइएको छ । टोलवासीकै सक्रियतामा चौतारीलाई संरक्षण गरिएको स्थानीय भुवन गुरूङले जानकारी दिए । समीको चौतारीमा पेटी बनाएर जस्ताको छानो नै लगाइदिएपछि सबैभन्दा धेरै विद्यार्थीलाई फाइदा भएको उनले बताए । ‘बिहान विद्यालयको बस पर्खिरहेका बालबालिकाका लागि छहारी बनेको छ’, उनी भन्छन्, ‘दिनभर पनि शीतल दिएको छ । गाउँघरका मान्छेहरु जमघट हुन पनि सजिलो भएको छ ।’
रातको समयमा सुरक्षामा खटिएका प्रहरीहरुलाई समेत उक्त छहारीले ठूलो राहत दिएको उनको भनाइ छ । ‘घामपानी जे भए पनि छहारीले राम्रो काम दिएको छ’, उनी भन्छन् ।
लायन्सचोकबाट क्षेत्रपुरतर्फ जाने मुख्य चोकस्थित पुङीखोलाको डिलमा समेत चौतारी संरक्षण गरिएको छ । सोही चौतारी दिनभर विश्रामस्थल बनेको छ । भरतपुर–११ कै पोखरी चोकैमा रहेको चौतारीलाई समेत आकर्षक बनाइएको छ । मुख्य राजमार्गमा रहेका सबै चौतारी ढल्दै गर्दा भित्री सडक या चोकमा बन्दै गरेका चौतारीले कसैलाई पूजा गर्ने त कसैलाई थकाइ मार्ने थलो बन्ने काम भने भइरहेकै छ । भित्री सडकछेउमा पर्ने चौतारी व्यस्त सडकछेउमा रहेको चौतारीको तुलनामा केही हदसम्म सुरक्षित रहने स्थानीय बताउँछन् ।
माथिका यी त सीमित उदाहरणमात्रै हुन् । चितवनका भित्री सडकहरुमा रहेका नयाँ तथा पुराना चौतारी संरक्षण हुनेक्रम बढ्दै गएको छ । यसले नेपाली मौलिक परम्परालाई जीवित राख्ने कामसमेत गरेको छ ।

