भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् ।
मेयर दाहालले विगतमा राज्यद्वारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाइँमा होमिएकाले यसको मर्मअनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।
‘पहिचानको अधिकारका लागि लडेर आएका हौँ’, उनले भनिन्, ‘संघर्षको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको मह¤वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’ मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व सम्हालिरहेको बताइन् ।
‘उपराष्ट्रपति नन्दबहादुर पुन तपाईंकै समुदायबाट हुनुहुन्छ, उनले भनिन्, ‘उपसभामुख ओनसरी घर्ती हुनुभयो, उपप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाइँले ल्याएको परिवर्तन हो ।’
मेयर दाहालले मगर समुदायलगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधैँ साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
यसैबीच, मेयर दाहालले भरतपुर–१ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन् । हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो । सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतिका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिबद्धता जनाइन् ।

