चितवन – यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल सुरु गर्ने तयारी थालेको छ ।
कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल सुरु गर्ने बताएको थियो । तर ट्रायल सेन्टर छनोटको बिषयमा विवाद उत्पन्न भएपछि बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा प्रक्रिया रोकिएको भएको थियो ।
छानबिनपछि प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएसँगै कार्यालयलाई ट्रायल सुरु गर्ने बाटो खुलेको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । ‘आर्थिक प्रस्तावको सूचना स्थगित भएपछि मुख्यमन्त्रीको कार्यालयले छानबिन ग¥यो, पौडेलले भने, ‘कानुनबमोजिम प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएपछि हामीले प्रक्रिया अघि बढाउन लागेका हौं ।’
चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । यातायात व्यवस्था सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कन गरिने जनाएको छ । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।
छनोटमा परेको ट्रायल सेन्टरलाई सम्झौता गर्न आउने भनी १५ दिनको सूचना निकालिने छ । त्यसपछि कर्मचारीको व्यवस्थापन गरि काम सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालय चितवनले जानकारी दिएको छ । चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए ।