भरतपुर/भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु नपर्ने बताउनु भएको छ । बेरोजगार भइयो भनेर अब चिन्ता गर्नु पर्दैन उप प्रमुख अधिकारीले भन्नू भयो, रोजगार मेलाले ढिलो चाडो सबैलाइ रोजगार बनाउनेमा बिश्वास समेत व्यक्त गर्नु भयो ।
भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा आयोजित वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ को उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले यस्तो बताउनु भयो । आज र भोलि गरि दुई दिन चल्ने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका एक दर्जन संघसंस्थाको आयोजनामा भएको हो । मेलाले जिल्लामा नयाँ रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को आयोजना गरिएको भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुबेदीले जानकारी दिनु भयो । स्थानीय सरकारले गरेको मेला यो नै पहिलो हो ।
जिल्लामा आवश्यक पर्ने कामदार अहिले छिमेकी रास्ट्र भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले त्यसलाइ कम गर्न रोजगार मेला गर्न लागिएको पनि वहाँले जानकारी दिनु भयो । रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गरिएको भरतपुर महानगरले जनाएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने छ । मेलामा कुल ६० वटा स्टल रहेका छन् । जिल्लाका सात वटा पालिका, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल रहेको छ । मेलामा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।