चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि हातपातको प्रयास भएको छ । आज (बिहीबार) दिउँसो उहाँकै कार्यकक्षमा हातपातको प्रयास भएको हो ।
घाँटीको शल्यक्रिया सकेर कार्यकक्षमा फर्किनु भएका डा. गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका हुन् । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा गौतमले बताउनुभयो ।
“लामो समयसम्म अस्पताल नआउने, आएपनि राम्रो काम नगर्दा जनगुनासो आएपछि हामीले काममा नआउन भनेका थियौं” डा. गौतमले भन्नुभयो “अहिले दलबलसहित अस्पतालभन्दा बाहिरका मानिस मलाई कुट्ने योजनासहित आएका रहेछन् ।”
डा. गौतम शल्यक्रिया सकेर कार्यकक्ष फर्किए लगत्तै अपशब्द प्रयोग गर्दै कुटपिटको प्रयास गरेको अस्पतालले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी लिएर पुगेको तर प्रहरी प्रमुख नवराज अधिकारीले अस्पतालभित्रको कुरा अस्पतालभित्रै मिलाउन भनेको अस्पतालका एक अधिकारीले बताए ।
अस्पतालको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई घटनाको जानकारी गराएको छ । प्रजिअ तामाङले घटनाका बारेमा जानकारी लिन शुक्रबार विहान १० बजे कार्यालयमा बोलाएका छन् ।
यसैबीच, घटनाको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल वीपी कोइराला क्यान्सर अस्पताल समितिले घटनाको भर्त्सना गरेको छ । जिल्ला समितिका अध्यक्ष डा. सञ्जय पौडेलले बिहीबार साँझ एक विज्ञप्ति प्रकाशित गरी अस्पतालको कार्यकारी निर्देशक जस्तो जिम्मेवारी व्यक्तिमाथि नियमित काम गरिरहेको बेला कार्यकक्षमा नै हमला हुँदा असुरक्षा बढेको भन्दै दोषी माथि कारवाही गर्न माग गर्नुभएको छ ।