प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा दिन लगाउनुपर्ने बताएपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरा आइरहेको छ। उहाँलाई सरकारले राजीनामा गराउनुपर्छ।’ श्रेष्ठले भने ।
त्यसको जवाफमा देउवाले राजनीतिक संलग्नता देखिएको भए अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । तर, बैठकले त्यसबारे कुनै निर्णय भने नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बिहीबार अधिकारीले आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी सोधेका थिए। एम अधिकारी पत्ता नलागे पनि नेकपा एमालेले राष्ट बैंकका गभर्नर अधिकारी पार्टीको विभागमा नरहेको दाबी गरेको छ।
एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नाम भेटिएपछि गभर्नर अधिकारी विवादमा तानिएका थिए।