चितवन, माघ २६-
केही मानिसहरु यस्ता हुन्छन्, जोसँग अचम्मको अद्भुत कला हुन्छ । जो कोही मानिसले गर्न नसक्ने क्रियाकलाप गरेर उनीहरुले विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएका हुन्छन् । त्यस्तै एउटा अचम्मको कला भएका व्यक्ति हुन्, चितवनको भरतपुर महानगरपालिका– १६, फूर्तीचोकका ३३ वर्षीय प्रकाश गिरी ।
जसले एकैपटक ५० वटा भन्दा बढी सिङ्गै खुर्सानी खाएर त्यसलाई मुखबाट जस्ताको त्यस्तै एकएक गरी निकाल्न सक्छन् । नारायणी अनलाइनको स्टुडियोभित्र उनले आफ्नो प्रतिभा देखाउँदै ५० वटा खुर्सानी पालैपालो खाएर पुनः पालैपालो निकालेर देखाएका छन् ।
आफ्नो यो प्रतिभालाई गिनिज बुकमा नाम लेखाउने सोच बनाएको प्रकाशले बताए । ‘यदि अरुले यस्तो प्रतिभामा गिनिज बुकमा नाम लेखाइसकेको रहेछ भने पनि म त्यो रकेर्डलाई तोडेर नाम लेखाउँछु’ प्रकाश भन्छन्, ‘यदि कसैको रकेर्ड रहेन्छ भने अधिकतम १५० देखि २०० सम्म खाने सोच बनाएको छु ।’
प्रत्येक एक डेढ महिनामा खुर्सानी खाने र पुनः त्यसलाई निकाल्ने क्रियाकलाप गर्ने गरेको प्रकाश बताउँछन् । जति बेला जुन सुकै समयमा पनि आफूले यो कला प्रतिभा देखाउन सक्ने प्रकाशले बताए । ‘खाना खानभन्दा अगाडि खाएको खुर्सानी खाना खाइसकेपश्चात निकाल्न सक्छु, उनले भने ‘तर खाना खाइसकेपश्चात खुर्सानी खान मन लाग्दैन । अहिलेसम्म खाना खाएपछि तत्कालै खुर्सानी खाएर निकाल्ने कोसिस गरेको छैन ।’
‘आफू भित्रको खुबी हो कुनै तन्त्रमन्त्र होइन’
प्रकाशले यो कुनै तन्त्रमन्त्र नभइ आफू भित्रको खुबी भएको बताएका छन् । ‘यो मेरो सानैदेखिको खुबी हो । कुनै तन्त्रमन्त्र होइन । अहिले गर्ने सक्ने, चर्चामा आउने अनि पछि गर्न नसक्ने भन्ने हुँदैन’ उनले भने, ‘स्वास्थ्यले साथ दिएसम्म म यो प्रतिभा सँधै देखाउन सक्छु । भविष्यमा पनि निरन्तर गरिरहेनेमा पूर्ण विश्वस्त छु ।’
‘सानोमा बुवाले खुर्सानी टिप्न पठाउँदा पनि एउटा खाएर आउँथे । त्यो खाना खाएपछि निकाल्थें’ उनी सम्झन्छन् । अब खुर्सानीमा नम्बर टाँसेर खान मन भएको उनले सुनाए । ‘खाएको खुर्सानी क्रमबद्ध हिसाबले आउँछ की नाई भनेर हेर्न मन छ । जसका लागि खुर्सानीमा नम्बर टाँसेर खाने योजना बनाएको छु’ प्रकाशले भने ।
‘सानै उमेरदेखि चञ्चले स्वभावको मैले विभिन्न किसिमका अचम्मका हर्कत गर्थें, प्रकाशले भने ‘कहिले गुच्चा खाएर पनि त्यसलाई पुनः निकालेको छु । धागो नाकबाट हालेर मुखबाट निकाल्ने गर्दछु ।’ सानोमा गुच्चा निलेर पुनः निकाल्ने गरेको भए पनि अहिले गुच्चा निल्न मन डराउने गरेकोे प्रकाश बताउँछन् । नाकबाट श्वासले तान्दै धागो हालेर मुखबाट निकाल्न भने अहिले पनि सक्ने प्रकाशको भनाइ छ । तर पछिल्लो तीन वर्षदेखि यो क्रियाकलाप भने गर्न छाडेको उनी बताउँछन् । अहिले खुर्सानीको प्रतिभालाई जोड दिने सोच रहेको उनले सुनाए ।
खाएको १२ घण्टापछि पनि जस्ताकोतस्तै खुर्सानी
खुर्सानी खाएर १२ घण्टा पछि पनि जस्ताको त्यस्तै निकाल्न सक्ने प्रकाशले बताएका छन् । ‘मैले १५ वटा खुर्सानी खाएर त्यसलाई १२ घण्टापछि जस्ताको त्यस्तै मुखबाटै निकालेको छु’ उनले भने ।
खाएको लामो समयपछि आउँछ कि नाई भनेर यसरी तीन पटकसम्म कोसिस गरेको र तीनै पटकसम्म सफल भएको प्रकाश बताउँछन् ।
‘मैले खुर्सानीलाई पेटबाट माथि सार्न सक्छु । पाचन प्रणालीसम्म पुग्न दिन्न’ प्रकाश भन्छन्, ‘१२ घण्टासम्म राख्दा पनि तीनतीन घण्टामा माथि सारि रहन्थें । खाएर त्यत्तिकै बस्यो अनि पाचन प्रणालीमा पुग्यो भने त पेट पोल्छ ।’ खुर्सानी निल्न केही अप्ठ्यारो नहुने बताउँदै उनले निकाल्न भने कुनैकुनै बेला केही गाह्रो अनुभव हुने बताए ।
मलेसियामा धेरै खुर्सानी खाने आँट
सानैदेखि अलिअलि खुर्सानी खाएर निकाल्ने गरेको भए पनि मलेसियमा हुँदा एकैपटक धेरै खुर्सानी खाने आँट आएको प्रकाश सम्झन्छन् । ‘मलेसिया हुँदा खेरी साथीहरुसँग कुरा भयो । सबैले आँट दिए’ उनले भने, ‘अनि एकै पटक २५ वटा खाएर निकालें ।’
त्यसपछि आफूले यसलाई बढाउँदै लगेको प्रकाशले बताए । मलेसियामा पाँच वर्ष र साउदीमा सात वर्ष बिताएका प्रकाशले हाल अटो चलाउनुका साथै गाउँमा घरपरिवारले हेर्ने गरी जुत्ता पसल पनि खोलेका छन् ।
समाचार : नारायणी अनलाइन बाट जस्ताको तस्तै