भरतपुर । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नारायणी अनलाइनका पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा कर्मचारीहरुले हातपात र दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति प्रकट गर्दै पत्रकारसम्वद्ध विभिन्न संघसंगठनले भर्त्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी चितवन शाखाका सदस्य आचार्यमाथि समाचार संकलनका क्रममा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुबाट गरिएको सांघातिक आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले स्वतन्त्रतापूर्वक पेसागत कर्ममा जुटेका पत्रकारमाथि प्राधिकरणका कर्मचारीबाट भएको हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाउँदै सो घटनामा संलग्न व्यक्तिहरुमाथि तत्काल कानुनी कारबाही अगाडि बढाएर पत्रकारलाई सुरक्षाको अनुभूति दिलाउन माग गरेका छन् ।
यस्तै, घटनाको पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्यमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ ।
सो घटनाप्रति आपत्ति जनाउँदै महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले पत्रकार आचार्यमाथि आक्रमणमा संलग्न कर्मचारीलाई कानुनी कारबाहीको दायरमा ल्याउन जोडदार माग गरेका छन् ।
यसैगरी, सो घटनाको प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका जिल्ला अध्यक्ष सुवास पण्डितले पत्रकार आचार्यमाथि प्राधिकरणका कर्मचारीले ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको भर्त्सना र निन्दा गर्दै घटनामा संलग्न दोषीहरुमाथि कारबाहीको माग गर्दै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहलाई विभागीय कारबाहीको लागि जोडदार माग गरेका छन् ।
यस्तै, नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनका अध्यक्ष अनिल ढकालले शनिबार विज्ञप्ति जारी गरी भरतपुर वितरण केन्द्रका कर्मचारीहरुबाट भएको निन्दनीय घटनाप्रति खेद व्यक्त गर्दै सो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै घटनामा संलग्नहरुलाई तत्काल कारबाहीको माग गरेका छन् ।
यसैगरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष रमेश रानाले विज्ञप्तिमार्फत घटनाको निन्दा एवं भर्त्सना गरेका छन् । समाचार संकलनका क्रममा भएको आक्रमणजस्तो निन्दनीय घटनामा संलग्न हुनेहरुलाई कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन् ।
यस्तै, समाजवादी प्रेस संगठनका अध्यक्ष टीकादत्त तिमिल्सिना र सचिव रामु आचार्यले पत्रकार आचार्यमाथि गालीगलौज गरी शरीरमा चोट हुने गरी कुटपिट गरेको घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही नभए आफ्नो संगठन चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
यस्तै, राष्ट्रिय दलीय पत्रकार संघ नेपाल चितवन शाखाका सचिव श्याम विश्वकर्माले घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाहीको माग गर्दै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सबैमा ध्यानाकर्षण गराएका छन् ।
यसैगरी, गैरसरकारी संस्था महासंघ चितवनका अध्यक्ष पार्वती घिमिरे दवाडीले पत्रकारमाथिको आक्रमण लज्जास्पद एवं निन्दनीय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
त्यस्तै पश्चिम चितवन पत्रकार मंच चितवनले पनि एक बिज्ञप्ती जारी गर्दै घटनाको घोर भर्त्सना ब्यक्त गरेको छ |

