चितवन, साउन १ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमाबाट उपचार नगराउने भएको छ । अस्पतालले एक सूचना प्रकाशित गरी बीमामार्फत् हुने उपचार सेवा स्थगन गरेको हो ।
अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य मार्फत् बीमा कार्यक्रम सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने उल्लेख गरे अनुसार आफूहरुले सेवा स्थगन गरेको बताए । उनले रेफरल स्वास्थ्य संस्थाको रुपमा उपलब्ध गराउँदै आएको बहिरंग (ओपिडि), अन्तरंग लगायत आकस्मिक अन्तर्गत बीमा मार्फत् दिईने सम्पूर्ण स्वास्थ्य सेवा असार ३२ गते राती १२ बजेबाट स्थगन गरिएको बताए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बि.सं. २०७३ भदौदेखि स्वास्थ्य बीमा मार्फत बिरामीहरुलाई आफूहरुले गुणस्तरीय सेवा दिंदै आएको बताउँदै सरकारी नीतिकै कारण स्थगन गर्नु परेको बताए ।
उनले सरकारले पुनः निजी स्वास्थ्य प्रदायक संस्थाबाट स्वास्थ्य बीमाको सेवा प्रदान गर्ने भनी निर्देशन आएमा आफूहरुले सेवालाई नियमित गर्ने बताए । बीमा बाहेक अस्पतालका अन्तरंग, बहिरंग (ओपिडि), आकस्मिक लगायत सम्पूर्ण सेवाहरु भने यथावत संचालनमा रहेको उनले जानकारी दिए ।