चितवन,साउन १४-
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दावी गर्नुभएको छ । आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’
उहाँले सत्ताको प्रभावमा परेर छानविन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगको बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, ‘११ जनाको छानविन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानविन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबर्जस्ती प्रतिवेदन बनाइएको छ ।’ छानबिन समितिलाई उहाँले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिनुभयो ।
नेता भट्टराईले भन्नुभयो, ‘छानविनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्, अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’
‘यो छानविन समिति होइन, सेटिङको साक्षी समिति हो, बहुमतले जबर्जस्ती प्रतिवेदन ल्याएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको छ’ भट्टराईले भन्नुभयो ।
छानविन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पु¥याउने उहाँको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआक्रोश पैदा गरेको उहाँको भनाइ थियो । उहाँले शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत बताउनुभयो । यस्तै उहाँले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने बताउनुभयो ।
फरक प्रसँगमा उनले नागरिकता विधयकले नेपाललाई शरणार्थीहरुको शिविर बनाउने खतरा बढेको पनि बताउनुभयो । उनले नागरिकता विधयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताउनुभयो । एमालेले वैवाहिक अंगीकृतको बिपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उहाँको भनाई थियो । यस्तै उहाँले बढ्दो महङ्गी र भ्रष्टचारविरुद्ध एमाले अब संसद छोडेर सडकमा उत्रिने बताउनुभयो । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उहाँले जानकारी दिनुभयो ।